शिवसताक्षी । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१०, कन्काई नदीको पश्चिम तटमा अवस्थित श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य आश्रम देशकै एक विशिष्ट धार्मिक तथा सांस्कृतिक संस्था बनेको छ।

वि.सं. २०२८ मा स्थापना भई वि.सं. २०५१ वैशाखमा जिल्ला प्रशासन कार्यालय झापामा विधिवत् दर्ता भएको यस संस्थाले नेपालका ऐतिहासिक प्रथम जगद्गुरु योगिराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको अभिमत अनुरूप निरन्तर धर्म, शिक्षा र समाजसेवामा योगदान दिंदै आएको छ।

संस्थाले हालसम्म श्रीलक्ष्मीनारायण मन्दिर, श्रीयोगिराज स्वामीजीको कुटि मन्दिर, कक्षा १० सम्म अध्ययन–अध्यापन हुने श्रीअनन्तादर्श संस्कृत वेद विद्यालय, श्रीलक्ष्मीनारायण गौशाला, वैष्णवालय, छात्रावास, पुस्तकालय र यज्ञमण्डपजस्ता प्रकल्पहरू सञ्चालन गर्दै आएको छ। यी माध्यममार्फत संस्था धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

दक्षिण भारतीय स्थापत्य शैलीमा ‘दिव्यदेश’ निर्माण

संस्थाको मूल मन्दिर जीर्ण बन्दै गएपछि वि.सं. २०७८ वैशाख १६ गते दक्षिण भारतीय स्थापत्य शैलीमा ‘श्रीलक्ष्मीनारायण दिव्यदेश’ निर्माणको शिलान्यास गरिएको थियो।

करिब ९ करोड रुपैयाँको लागतमा भक्तजन र स्थानीय दाताहरूको सहयोगमा मन्दिर निर्माण अन्तिम चरणमा पुगेको संस्थाका सचिव हरिनारायण बास्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अझै २ करोडरकमले मात्र मन्दिरले पूर्णता पाउने छ । हालसम्म सम्पूर्ण खर्च दान–चन्दाबाट नै पूरा गरिएको र भान्साघर निर्माणका लागि कोशी प्रदेश सरकार, सहरी विकास मन्त्रालयबाट रु २५ लाख प्राप्त भएको संस्थाले जनाएको छ।

अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटक गन्तव्य

प्रत्येक वर्ष स्वदेशी तथा विदेशी गरी करिब १० हजारभन्दा बढी भक्तजन यहाँ दर्शन र सत्संगका लागि आउने गरेका छन्।

विशेषगरी स्वामीजी महाराजका शिष्यसम्पदा विश्वभर छरिएका कारण अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत, डेनमार्क, न्युजिल्याण्ड, नेदरल्याण्ड, नर्वे, भूटान लगायत देशका भक्तजन नियमित रूपमा आश्रम भ्रमण गर्ने गर्छन्।

यसले धार्मिक पर्यटनमार्फत कोशी प्रदेशकै प्रमुख धार्मिक गन्तव्यको रूपमा मन्दिरलाई स्थापित गरेको छ। जसका कारण कोशी प्रदेशमा दिव्य धामको रुपमा पर्यटकको गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।

 २०८३ वैशाखमा श्रीलक्ष्मीनारायण दिव्यदेश मन्दिरर्कोै भव्य उद्घाटनको तयारी

संस्थाले हालै घोषणा गरेअनुसार आगामी वि.सं. २०८३ वैशाख ११ देखि १८ गतेसम्म (सन् २०२६ अप्रिल २४–मे १) श्रीलक्ष्मीनारायण दिव्यदेशको प्रतिष्ठा (महासम्प्रोक्षण) तथा उद्घाटन समारोह भव्य रूपमा आयोजना गरिनेछ।

उक्त समारोह दक्षिण भारत, तामिलनाडु काञ्चीपुरम् स्थित श्रीकाञ्ची प्रतिवादी भयंकर सिंहासनाधीश्वर जगद्गुरु अनन्त श्रीविभूतिषत श्रीश्रीनिवासाचार्य स्वामीजी महाराजको प्रमुख आचार्यत्वमा सम्पन्न गरिने संस्था वरिष्ठ उपाध्यक्ष हरिप्रसाद तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार भव्य समारोहमा आउने २ हजार भक्तजनहरुलाई प्रसाद र आवाशको व्यवस्था गरिने छ भने, समारोहमा सबैलाई प्रसादको व्यवस्था गरिनेछ ।

उद्घाटन समारोहको अवसरमा नेपाल, भारत, भूटान, अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका देशबाट सयौं विशिष्ट धर्माचार्य, सन्त–महन्त, विद्वान् तथा हजारौं भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

प्रतिष्ठा समारोह सम्पन्न गर्नका लागि करिब ३ करोड रुपैयाँको खर्च हुने अनुमान गरिएको छ । संस्थाले बाँकी निर्माण तथा साजसज्जा कार्य पूरा गर्दै समारोहलाई सफल बनाउनका लागि तीनै तहका सरकार, उद्योगी–व्यवसायी, पत्रकार, समाजसेवी, स्थानीयवासी र विश्वभरका भक्तजनहरूलाई सहयोग र सहभागिताको लागि अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0