काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज (कात्तिक ९ गते) चार जना मन्त्री थपिँदै छन् ।
स्रोतका अनुसार खगेन्द्र सुनार, डा. सुधा गौतम, बब्लु गुप्ता र गणपतिलाल श्रेष्ठले आज मन्त्री पदको शपथ लिँदैछन् ।
उनीहरू चारै जनाको नाम प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको र आजै शपथ ग्रहणको तयारी गरिएको स्रोतको भनाई छ ।
सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद र श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । स्वास्थ्यमन्त्री बन्न लागेकी सुधा गौतम पूर्वस्वास्थ्य सचिव हुन्।
यस्तै, खगेन्द्र सुनार दलित अधिकारको आवाज उठाउने अभियन्ता हुन् भने बब्लु गुप्ता परोपकारी संस्था १०० ग्रुपका संस्थापक हुन्।
गणपतिलाल श्रेष्ठ लामो समयदेखि काठमाडौँ उपत्यकालगायत सांस्कृतिक क्षेत्रको मौलिक सम्पदाको संरक्षण, संवर्द्धन र जगेर्ना अभियानमा क्रियाशील व्यक्ति हुन्।













