गौरीगंज । झापाको गौरीगंज गाउँपालिका–६ स्थित खजुरगाछी बजारमा गएराति भएको भीषण आगलागीमा दुई घर र एक पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगलागीमा स्थानीय चन्द्र नायकको किराना पसल र रेखा ढकालको घर जलेर पूर्ण क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। साथै आगो तीव्र गतिमा फैलिँदा नजिकै रहेका राजेन्द्र ढकालको घर पनि पूर्ण रूपमा नष्ट भएको र त्रिभुवन आदर्श पुस्तकालयमा आंशिक क्षति पुगेको बताइएको छ।
आगलागी राति करिब १० बजे सुरु भएको भए पनि आगोको कारण खुलेको छैन।
गौरादह नगरपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाबाट आएका दमकलसहित स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा करिब डेढ घण्टापछि, राति ११ः३० बजे आगो नियन्त्रणमा ल्याइएको थियो।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













