इलाम । निरन्तर वर्षाका कारण इलाममा मेची राजमार्गसहित वैकल्पिक सडकमा सवारी आवागमन पूर्णरूपमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय इलामले अर्को सूचना नआएसम्मका लागि ती सडकमार्गमा सवारी सञ्चालन नगर्न निर्देशन जारी गरेको हो।
हिजोदेखि परेको लगातार वर्षाले इलाम–९ राजदुवालीस्थित मेची राजमार्गको सडकखण्ड विभिन्न स्थानमा भासिन, चिरिन र दबिन थालेपछि दुर्घटनाको जोखिम बढेको प्रशासनले जनाएको छ। त्यस्तै, तिल्केनी–सिमलगोलाई–शिल्पुर वैकल्पिक सडकखण्ड पनि पहिरोका कारण पूर्णरूपमा अबरुद्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार राजदुवाली क्षेत्रका धेरै ठाउँमा जमिन चिरा परेका र सडकका भाग दबिएका छन्, जसले थप पहिरो जाने सम्भावना बढाएको छ। यसले गर्दा राजमार्ग दुवैतर्फको आवागमन अवरुद्ध भएको छ।
सडक सुचारु गराउने उद्देश्यले इलाम प्रहरी निरीक्षक रमेश राईको नेतृत्वमा प्रहरी टोली खटिएको छ भने, प्रहरी चौकी गोलाखर्कबाट बरिष्ठ हवल्दार शम्भुकुमार राजवंशीको कमाण्डमा थप टोली परिचालित गरिएको इलाम प्रहरीले जनाएको छ। उक्त टोलीले सडक डिभिजन कार्यालय इलामसँग सहकार्य गर्दै सडक खुलाउने प्रयास जारी राखेको जनाएको छ।













