काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी–८ चारसयबेशी र रोशी–१२ माम्तीमा सडक माथिबाट खसेको सुख्खा पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चारसयबेशी क्षेत्रमा तीन दिनदेखि लगातार सुख्खा पहिरो खसिरहेकाले सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । हाल उक्त स्थानमा डाइभर्सन निर्माण कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उनका अनुसार विभिन्न स्थानहरूमा पहिरो र लेदो पन्छाउने कार्य सम्पन्न भए पनि चारसयबेशीमा निरन्तर सुख्खा पहिरो खसिरहेकाले यातायात सञ्चालन असम्भव बनेको हो ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तर्गत चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउने लगायतका क्षेत्रमा ढुङ्गा र लेदो सहितका पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो ।
त्यस्तै, माम्तीको तल्लो भेगमा गत असोज महिनामा सडक बगेर बनेको डाइभर्सनमा पनि लेदो सहितको बाढी पस्दा यातायात ठप्प भएको थियो ।
गत वर्ष असोज १० देखि १२ गतेसम्मको भीषण वर्षाले बीपी राजमार्गका विभिन्न स्थानमा सडक बगाएको थियो । त्यसपछिका दिनमा अस्थायी डाइभर्सन निर्माण गरी आवागमन सुचारु गरिएको भए पनि यस वर्षको असोज १८ र १९ गते परेको अविरल वर्षाले पुनः डाइभर्सन र सडक दुबैलाई क्षति पुर्याएको थियो ।












