शिवसताक्षी । शिवसताक्षी नगरपालिका–११ मैनाचरीस्थित मैनाचरी आधारभूत विद्यालयमा हङकङमा बसोबास गर्दै आएका समाजसेवी प्रकाश थापा मगरले रु. ५० हजार आर्थिक सहयोग गरेका छन्।

थापा मगरले आफ्नी आमा कुलमाया थापा मगरको स्मृतिमा विद्यालयमा अपुरो रहेको खानेपानी ट्याङ्की निर्माणका लागि सहयोग गरेका हुन्। स्थायी ठेगाना मोरङ उर्लाबारी भोटेपुल भएका थापा मगरका भतिज पवन मगरले विद्यालयको अवस्थाबारे जानकारी गराएपछि उक्त सहयोग गरिएको हो।

सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवराज राईलाई नगद रूपमा हस्तान्तरण गरिएको थियो। विद्यालयले यो सहयोगले खानेपानी सुविधा विस्तारमा ठुलो टेवा पुग्ने जनाएको छ।

त्यसैगरी, मैनाचरी नवयुवा युथ क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा अध्ययनरत दलित छात्रा गङ्गा विश्वकर्मालाई एक वर्षका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ। क्लबले तिहारको देउसी–भैलोबाट सङ्कलित रकमबाट पोशाक, ब्याग, शैक्षिक सामग्री र शुल्कसहित रु. १० हजार बराबरका सामग्री उपलब्ध गराएको हो।

कार्यक्रममा सहभागी बम हाङ लिम्बुले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई चकलेट वितरण गर्दै जन्मदिन मनाएका थिए।

विद्यालयमा हाल पूर्व–प्राथमिकदेखि कक्षा पाँचसम्म अङ्ग्रेजी माध्यममा शिक्षा प्रदान हुँदै आएको छ। विद्यालयमा ९७ विद्यार्थी अध्ययनरत छन्।

स्थानीयहरूले प्रकाश थापा मगर, युथ क्लब र बम हाङ लिम्बुको योगदानलाई उदाहरणीय सामाजिक पहलका रूपमा सराहना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0