तेलंगना । तेलंगनाको रंगा रेड्डी जिल्लामा सोमबार बिहान बस र ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । दुर्घटना चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक बिहान सबेरै भएको बताइन्छ ।
समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
तेलंगनाका मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति शोक व्यक्त गर्दै मृतकका परिवारजनलाई आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरूलाई पचास हजार रुपैयाँ प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रदान गरिनेछ ।













