शिवसताक्षी । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप अन्तर्गत विहीबार सम्पन्न अन्तिम क्वार्टर फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा एफसीलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको सुरुवाती चरणदेखि नै बल पोजेसनमा प्रभुत्व जमाएको आर्मीले लगातार आक्रमण गर्दै खेलमा दबदबा कायम राख्यो । खेलको १६औँ मिनेटमा उषा शाहीमाथि फाउल भएपछि प्राप्त फ्रिकिकमा डिफेन्डर विमला विकको उत्कृष्ट क्रसमा जेनिफर राना मगरले हेडिङ गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् ।
३३औँ मिनेटमा पोखराकी गोलकिपरको गल्तीको फाइदा उठाउँदै विमला चौधरीले हिमा चौधरीको असिस्टमा हेडरमार्फत दोस्रो गोल गरिन् । पहिलो हाफको इन्ज्युरी समयमा राष्ट्रिय खेलाडी विमला विकले कर्नरबाट आएको बलमा फिनिसिङ गर्दै आर्मीको अग्रता ३–० मा पुर्याइन् ।
दोस्रो हाफमा पनि खेलको गति आर्मीले नै नियन्त्रणमा राख्यो । ८५औँ मिनेटमा विमला चौधरीले सञ्जु कुमालको असिस्टमा व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसपछि ९०औँ मिनेटमा शर्मिला थापाले विमला विकको क्रसमा गोल गर्दै आर्मीको अग्रता ५–० बनाइन् । इन्ज्युरी समयमा पुनः विमला चौधरीले अनिता लम्जेलको कर्नरमा हेडरमार्फत आफ्नो ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को सहज जित दिलाइन् ।
खेलमा आर्मीको बल पोजेसन, पासिङ र फिनिसिङ उत्कृष्ट रह्यो भने पोखराको डिफेन्स र गोलकिपिङ कमजोर देखियो । आर्मीका लागि विमला चौधरीले ह्याट्रिक गरेकी थिइन् भने विमला विक, जेनिफर राना मगर र शर्मिला थापाले समान एक–एक गोल गरे ।
खेलकी ‘प्लेयर अफ द म्याच’ विमला चौधरी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।
यस जितसँगै एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूर्ण भएको छ ।
पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र संकटा फुटबल क्लब तथा दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले १० लाख १० हजार रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई समान २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।












