जनकपुरधाम । विश्वासको मत नपाउने निश्चित भएपछि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनालले पदबाट राजीनामा दिएका छन्। उनले आज साँझ प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीलाई राजीनामा पत्र बुझाएका हुन्।

मुख्यमन्त्री सोनालले यसअघि आजै बसेको प्रदेशसभा बैठकमा आफ्नो राजीनामाको घोषणा गरेका थिए। त्यही बैठकमा विश्वासको मत लिने कार्यसूची तय थियो, तर आवश्यक बहुमत नपाउने संकेत पाएपछि उनले पदत्याग गर्ने निर्णय गरेका हुन्।

१०७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ मतको बहुमत आवश्यक छ। तर सत्ता गठबन्धनभित्रको मत विभाजन र अनुपस्थित सांसदका कारण मुख्यमन्त्री सोनालको सरकार अल्पमतमा परेको हो।

मधेश प्रदेशसभामा अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ८, जनता समाजवादी पार्टी (जसपा) का १८, जनमत पार्टी का १३, नेकपा (माओवादी केन्द्र) का ९ र एकीकृत समाजवादी का ७ सिट छन्।
त्यसक्रममा नागरिक उन्मुक्ति पार्टी ले सोनाललाई समर्थन गर्ने निर्णय गरिसकेको थियो। तर संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी अनुपस्थित रहिन्, जसले सरकारको पक्षमा पर्ने मत घटायो।

त्यस्तै, माओवादी केन्द्रका प्रदेश सांसद रहवर अन्सारी र माला राईले सदनमै विद्रोह गर्दै सरकारको समर्थन नगर्ने घोषणा गरे। यसले सत्ता गठबन्धनको गणित थप कमजोर बनायो।

विश्वासको मत विभाजन सुरु भएपछि परिस्थिति सोनालको विपक्षमा गएपछि मत विभाजन प्रक्रिया केही समयका लागि रोकिएको थियो। त्यसपछि मुख्यमन्त्री सोनालले अन्ततः सदनमै राजीनामा घोषणा गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन्।

सोनालको राजीनामासँगै मधेश प्रदेशमा पुनः राजनीतिक अस्थिरताको अवस्था सिर्जना भएको छ। अब नयाँ सरकार गठनका लागि दलहरूमाझ पुनः सत्ता समीकरणको दौड सुरू हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0