काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संयोजकको जिम्मेवारी घनश्याम भूसाललाई दिएको छ ।
शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूले गरेको भर्चुअल बैठकले भूसाललाई संयोजक तोकेको एक नेताले बताए ।
बैठकले मंसिर पहिलो साता राष्ट्रिय भेलाको समेत आयोजना गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्नलाई यथावत राख्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत बहुमत पक्ष माओवादी केन्द्रसँग पार्टी एकता गरिसकेका छन् भने रामकुकारी झाँक्री, किसान श्रेष्ठलगायतले एमालेमा फर्कने घोषणा गरेका छन् ।
एकता विवादको भुमरीमा फसेको समाजवादीमा पुनर्गठन पक्षधरले पार्टी पुनर्गठन गर्ने निष्कर्षसहित भुसाललाई नेतृत्व चयन गरेको हो ।
भूसालले गत शुक्रबार नेकपा माओवादी केन्द्रका तत्कालीन नेता जनार्दन शर्मा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सहकार्य गर्ने सहमति जनाएका थिए ।













