शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी एलभिडी झापा महिला गोल्डकपलाई स्थानीय उत्सवका रूपमा मनाउनका लागि नगरका सामुदायिक र निजी दुवै विद्यालयहरू एक दिनका लागि बन्द गरिएका छन्।

नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको बैठकले गोल्डकपको फाइनल खेल हुने दिन विद्यालय विदा दिने निर्णय गरेको हो।

श्री बालसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीका अनुसार, विद्यार्थीहरूको माग र खेलप्रतिको उत्साहलाई ध्यानमा राख्दै हिउँदे तथा बर्खे विदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको हो।

यसैगरी नगरका संस्थागत विद्यालयहरू पनि विदा रहने नगर प्याब्सनका अध्यक्ष तथा क्याम्ब्रिज इङ्गलिस स्कुलका प्रिन्सिपल रामप्रसाद सुहाङले जानकारी दिए। उनका अनुसार, विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता नजिकबाट हेर्ने अवसर दिन बिदा दिने निर्णय गरिएको हो।

नगर प्रमुख मेगाहाङ थोप्राका अनुसार, गोल्डकपले शिवसताक्षीको पर्यटन प्रवर्द्धन र खेलकुद पहिचान स्थापित गर्न ठूलो अवसर दिएको छ। उनले भने, “फुटबलका माध्यमबाट शिवसताक्षी देशभर चिनिँदैछ। यो नगरको प्रतिष्ठा बढाउने र नगरवासीको गौरव हो।”

कार्तिक १७ देखि सुरु भएको प्रतियोगितामा शिवसताक्षी नगरपालिकाले रु. २० लाख ७५ हजार बराबरको सहयोग गरेको छ। उपाधिका लागि फाइनलमा एपीएफ महिला टोली र त्रिभुवन आर्मी क्लब आमनेसामने हुने छन्।

विजेता टोलीले रु. १० लाख १० हजार, र उपविजेताले रु. ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।  गोल्डकपको फाइनल खेल कार्तिक २४ गते बिहान १० बजेबाट सांस्कृतिक कार्यक्रम सहित सुरु हुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0