मुख्यमन्त्री नियुक्ति प्रक्रिया निन्दनीय : विश्वप्रकाश

काठमाडौं । मधेस प्रदेशमा भएको नयाँ सरकार गठनप्रति मुख्यमन्त्रीकै दल नेकपा (एमाले) कै नेताहरू अचम्मित भएका छन् ।

मुख्यमन्त्री नियुक्तिबारे प्रदेशमा अधिका्ंश सांसदहरु अनभिज्ञ रहेको एमाले प्रमुख सचेतक हरिनारायण महतोले बताए ।

ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन भएकोमा उनले असन्तुष्टी व्यक्त गरे ।

दलभित्र संविधानको १६८ को उपधारा २ अनुसार सरकार गठनको सम्भावना जीवितै रहेकाले ३ मा नजान दलका नेता यादवलाई प्रमुख सचेतक हरिनारायण महतोले सचेत समेत गराएका थिए । तर संविधानको १६८ को उपधारा ३ बमोजिम नै एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएपछि प्रमुख सचेतक महतोले ‘नहुनुपर्ने घटना’ भएको उनले बताए ।

उनले भने, ‘यिनीहरुले भित्रभित्रै षड्यन्त्र गरेर, के कहाँबाट परिचालित भएर, हामीलाई कुनै जानकारी नगराई राति साढे ४ बजे बर्दिबास कालापानीको पानस होटेलमा गएर शपथ लिए ।’

आज बिहान उपचारका लागि भन्दै निस्केकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बर्दिबास नगरपालिका–३ स्थित पानस होटेलमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी थिइन् ।

यस विषयमा एमालेकै कतिपय सांसद बेखबर छन् । मधेश प्रदेश सभामा एमालेका सभामुखसहित २५ सांसद छन् । जसमा एकजना निलम्वित छन् ।

मुख्यमन्त्री नियुक्ति प्रक्रिया निन्दनीय : विश्वप्रकाश
यता, नेपाली कांग्रेसले पनि मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई ‘निन्दनीय’ भनेको छ ।

यसले नागरिकमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने कांग्रेसको आशंका छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दुस्खद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’

कांग्रेस महामन्त्री शर्माले संविधानको धारा १६८(२) को सरकार बन्ने संभावना छँदै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन गरिएकोमा विरोध जनाएका छन् । साथै यसलाई न्यायालयले सच्याउने अपेक्षा पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0