दमक । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वर्तमान सरकार चुनाव गराउने पक्षमा नरहेको आरोप लगाउनुभएको छ।

प्रेस चौतारी नेपालले सोमबार झापाको दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता दाहालले सुरक्षा निकायबाट खोसिएका हतियार र फरार अपराधीहरू खुलेआम हिँडिरहेको अवस्थामा सरकारले कसरी निष्पक्ष चुनाव गराउने भन्ने प्रश्न गर्नुभयो।

उहाँले वर्तमान सरकार नै असंवैधानिक रहेको दाबी गर्दै यस्तो सरकारबाट लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अपेक्षा गर्न नसकिने बताउनुभयो।

नेता दाहालका अनुसार सरकारले गठन गरेको छानबिन आयोगको कुनै कानुनी आधार र औचित्य छैन। उहाँले प्रतिनिधि सभा विघटनलाई समेत अलोकतान्त्रिक र असंवैधानिक कदम भन्दै एमालेले संसद पुनःस्थापनाको मागसहित जनस्तरमा अभियान थालेको जानकारी दिनुभयो।

“अहिलेको राजनीतिक र संवैधानिक गतिरोधको अन्त्य संसद पुनःस्थापनाबाट नै सम्भव छ,” दाहालले भन्नुभयो। उहाँले नेपाली कांग्रेसको यस विषयमा जारी मौनतालाई आश्चर्यजनक भन्दै कांग्रेस पनि सो एजेण्डामा आउँदै गएको दाबी गर्नुभयो।

उनका अनुसार जेन्जी (जनजनता जागरण) ले अघि सारेका माग संसद पुनःस्थापनापछि गठन हुने सरकारले नै पूरा गर्नेछ। दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासनको पक्षमा ठोस रूपमा काम गरिरहेको बेला जेन्जी आन्दोलनमा घुसपैठ गरी हिंसात्मक माध्यम अपनाएर त्यसलाई कमजोर बनाउने प्रयास भएको बताउनुभयो।

उहाँले सो क्रममा भएका आगजनी, तोडफोड र हिंसात्मक गतिविधिमा संलग्नहरूलाई चाँडै कानुनी कारबाहीमा ल्याउन सरकारसँग माग गर्नुभयो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य रोमनाथ ओलीले संसद पुनःस्थापनाको पक्षमा जिल्लाभर जनपरिचालन तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो।

त्यसैगरी प्रदेश सभा सदस्य होमबहादुर थापा, एमाले झापा उपाध्यक्ष शिव ढुंगेल, सचिव तुलसी कार्की, नगर अध्यक्ष राम पौडेल, अनेमसंघ अध्यक्ष लिला दाहाललगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0