बिर्तामोड । नेपालकै सबैभन्दा ठूलो विद्यार्थी ट्यालेन्ट हन्ट कार्यक्रम ‘स्टुडेन्ट अफ द इयर नेपाल’को पहिलो अडिसन झापाबाट सुरु हुने भएको छ। आयोजक स्टुडेन्ट अफ द इयर राष्ट्रिय समितिले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेको हो।

समितिका अनुसार देशभरका ११ सहरमा अडिसन सञ्चालन हुने कार्यक्रमको पहिलो चरण आगामी मंसिर ६ गते बिर्तामोडमा हुनेछ। कार्यक्रमका लागि १३ देखि २१ वर्ष उमेर समूह (कक्षा ८ देखि १२ मा अध्ययनरत विद्यार्थी) सहभागी हुन सक्नेछन्। सहभागीले ९९९ रुपैयाँ रेजिष्ट्रेशन शुल्क तिर्नुपर्ने र त्यस बाहेक कुनै अतिरिक्त शुल्क नलाग्ने आयोजकले जनाएको छ।

अनुमानित एक करोड रुपैयाँ लागतमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगद, ट्रफी र विभिन्न अवसरहरू प्राप्त गर्नेछन्। प्रतियोगिताको टप ४० चरणबाट भोटिङ राउन्ड सुरु हुने जानकारी पनि दिइएको छ।

कार्यक्रमको होस्टका रूपमा लोकप्रिय इन्फ्लुएन्सर इभा गिरीले ऊर्जावान प्रस्तुति दिँदै कार्यक्रमलाई नयाँ आकर्षण प्रदान गरिन्। उनले ‘स्टुडेन्ट अफ द इयर’लाई विद्यार्थीहरूको सपनासँग जोड्ने राष्ट्रिय मञ्चका रूपमा प्रस्तुत गरिन्।

त्यस्तै, निर्णायक मण्डलमा युवा वैज्ञानिक आरिफ अली पनि रहने छन्। उनले विद्यार्थीहरूको प्रतिभालाई विज्ञान र सिर्जनशीलताको दृष्टिकोणबाट मूल्याङ्कन गरिने बताए।

पत्रकार सम्मेलनमा स्टुडेन्ट अफ द इयर राष्ट्रिय समितिका सदस्यहरू, विद्यालयका प्रतिनिधि र सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।

आयोजकका संयोजक असविन तिम्सिनाका अनुसार, “स्टुडेन्ट अफ द इयर केवल प्रतिस्पर्धा होइन, यो नेपालका विद्यार्थीहरूको सम्भावना विश्वसामु देखाउने एक राष्ट्रिय अभियान हो।”

कार्यक्रमको उद्देश्य नेपालभरिका विद्यार्थीहरूमा लुकेका प्रतिभा पहिचान गर्नु, उनीहरूलाई राष्ट्रिय स्तरमा परिचित गराउनु र आत्मविश्वास तथा सिर्जनात्मक क्षमताको विकास गर्नु रहेको आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0