झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएका गोलीमध्ये केही फेला परेका छन् । प्रहरीले यस घटनासँग संलग्न दुईजनालाई पक्राउ गरी लुटिएको ५४ थान गोलीसहित बरामद गरेको जनाएको छ ।
बिर्तामोड–२ रामचोकमा लागूऔषध नियन्त्रण ब्युरो इकाई काँकरभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले आज दिउँसो साढे १२ बजे पक्राउ कार्य सम्पन्न गरेको हो । टोलीले बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई हाल रामचोकमा लालबहादुर गिरीको घरमा डेरा गरी बस्ने २७ वर्षीया इस्रप खातुनको कोठाबाट गोली फेला पारेको हो ।
बरामद सामग्रीमा एसएलआरका ३८ राउण्ड, इन्सासका १६ राउण्ड, काँसको थाल १ वटा, करुवा १ वटा, पित्तलको गिलास १ वटा र प्रहरीको बुट १ जोर रहेको प्रहरीले जनाएको छ ।

इस्रप खातुनसँगै सो घटनामा संलग्न बिर्तामोड–२ रामचोकका २२ वर्षीय विकास टुडु पनि पक्राउ परेका छन् । दुवैजनालाई बरामद सामानसहित इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
यसअघि कात्तिक १९ गते पनि जेनजी आन्दोलनकै क्रममा लुटिएको एक थान इन्सास हतियार र त्यसका गोली बिर्तामोड–६ सुगम शान्ति टोल नजिकैको तोरीवारीमा फेला परेको थियो । उक्त हतियार ०३११००८७२ नम्बरको इन्सास हो, जससँग म्याग्जिन १ थान, १९ थान सावुत र २ थान बेसावुत गोली बरामद भएको थियो ।
डीएसपी खड्काका अनुसार हालसम्म दमक र बिर्तामोडका विभिन्न प्रहरी कार्यालयबाट लुटिएका २२ थान हतियार अझै फेला पर्न बाँकी छन् ।













