काठमाडौँ  ।  बिहीबार मधेश प्रदेशसभामा सांसदहरूबीच हात हालाहालको स्थिति बनेको छ ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात दलीय गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गर्ने क्रममा सभामा तनाव भएको हो । गठबन्धनका सांसदहरूले ६४ जनाको हस्ताक्षरसहित बुधबार प्रदेश सभा सचिवालयमा पुगेर प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्ताव दर्ताका क्रममा सचिवालय परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो । गठबन्धनका सांसदहरू सचिवालय पुगेका बेला एमालेका सांसदहरूले अवरोध गर्ने प्रयास गरेको बताइएको छ । तर, अवरोधबीच पनि अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

उपसभामुखले दर्ता प्रक्रिया अघि बढाउने तोक लगाइसके पनि सभामुख मण्डलले प्रक्रिया रोकेका थिए । अन्ततः सचिवालयका कर्मचारीले प्रस्ताव दर्ता गरेका हुन् । यस क्रममा त्यहाँ उपस्थित केही सांसद र सभामुखका कार्यकर्ताबीच झडपसमेत भएको जनाएको छ।

झडपका क्रममा जनमत पार्टीका नेता महेशप्रसाद यादव, लोसपाका सांसद उपेन्द्र महतो र जसपा नेपालका सांसद राजकुमार गुप्तामाथि हातपात भएको बताइएको छ । सांसद महतोले प्रस्ताव दर्ता गरेर फर्किने क्रममा सभामुख पक्षका कार्यकर्ताबाट हातपात भएको आरोप लगाएका छन् ।

सभामुख मण्डल एमाले कोटाबाट निर्वाचित सभामुख हुन् । प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ (१) नियम १८० को उपनियम १ बमोजिम सभामुखलाई पदीय अनुकूल आचरण सम्बन्धी दर्ता गराउने व्यवस्था छ । यसमा ६४ जना सांसदले हस्ताक्षर गरेका छन् । तर, सभामुखविरुद्ध अविश्वास प्रस्ताव पारित गर्न दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0