oplus_2

काठमाडौं । आगामी प्रतिनिधि सभा चुनावलाई मध्यनजर राख्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समय थपेको छ। आयोगले पाँच दिन थप गर्दै अब मंसिर ५ गतेसम्म नामावली दर्ता खुला रहने जनाएको हो। यसअघि कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने प्रावधान थियो।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार, अनलाइन प्रणालीमार्फत दर्ता सेवा विस्तार गरेसँगै ठूलो संख्यामा सेवाग्राही जोडिएपछि प्रणालीमा केही प्राविधिक समस्या देखिएको छ। यसले अनलाइनबाट मतदाता नामावली भर्ने प्रक्रिया केही प्रभावित भएको आयोगले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकले घरमै बसेर अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सक्नेछन्। आयोगको वेबसाइटमा प्रवेश गरी परिचयपत्र नम्बर र जन्ममिति प्रविष्टि गरेपछि व्यक्तिगत तथा बायोमेट्रिक विवरण स्वचालित रूपमा प्रणालीमा उपलब्ध हुनेछ। यस्तो अवस्थामा कार्यालयमा उपस्थित हुनैपर्ने आवश्यकता पर्दैन।

तर परिचयपत्र नम्बर नभएकाहरूले भने अनलाइन फाराम भरेपछि तोकिएको मितिमा नजिकैको निर्वाचन कार्यालयमा गएर फोटो र औँठाछाप पु¥याउनुपर्नेछ।

आयोगका अनुसार अनलाइन सेवा प्रभावकारी रूपमा लागू भएपछि कार्यालयहरूमा हुने भीड घट्ने, सेवाग्राहीले झन्झटबिनै दर्ता सेवा पाउने र समयमै सबै योग्य नागरिक मतदाता सूचीमा सामेल हुन सक्ने अपेक्षा गरिएको छ।

आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तय भइसकेकाले मतदाता नामावली दर्ता अभियानलाई तीव्रता दिइएको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0