झापा । नेकपा (एमाले) का केन्द्रीय सचिव अर्यालले झापामा आयोजित विशाल जनसभामा सूर्य चिन्ह नै पर्याप्त शक्ति भएको बताउनु भयो । उहाँले झापाको विर्तामोडमा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै “लाखौँ तारा भए पनि एउटै सूर्य काफी छ,” भन्दै एमालेलाई जनताको बलियो विश्वास रहेको दावी गर्नुभयो ।
सचिव अर्यालले झापालाई मुलुकको राजनीतिक परिवर्तनको केन्द्रका रूपमा परिचित गराउँदै संविधान रक्षा र प्रतिगमनविरुद्ध झापाली जनताको निरन्तर योगदानले देशभर सन्देश दिएको भन्दै उहाँले झापाबाट उठेको आवाजले प्रतिनिधिसभा पुनःस्थापना र लोकतान्त्रिक अभ्यास बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

विभिन्न दल खुलेका वा एक भएका भए पनि उद्देश्य एमालेको विरोध मात्र भएको उहाँको भनाइ थियो। “जननिर्वाचित सरकार अपदस्थ गरेर निर्वाचन गर्छु भन्ने नाटक मात्र हो,” उहाँले भन्नुभयो, शान्तिपूर्ण र विश्वसनीय निर्वाचनका लागि एमाले सधैं तयार छ ।
कार्यक्रममा युवा नेता मनोज ताम्लीले राष्ट्रियता र लोकतन्त्रका लागि एमालेले गरेको बलिदान उल्लेख गर्दै आगामी दिनमा पनि पार्टी त्याग्नुपर्ने अवस्था आएसम्म लड्न तयार रहेको बताउनु भयो । सिंहदरबार र सर्वोच्च अदालतमा गरेको तोडफोड राष्ट्रवादको नाममा स्वीकार्य नहुने उहाँको भनाइ थियो।

मुक्तिचोकबाट सुरु भएको विशाल र्याली बिर्तामोडको सिटी सेन्टरमा आयोजित जनसभामा परिणत भएको थियो, जहाँ असंवैधानिक सरकारविरुद्ध झापाली जनताले ठोस चेतावनी दिएको पार्टीले जनाएको छ।
सभामा झापा जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षता रहेको थियो भने उपाध्यक्ष शिव ढुङ्गेल, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई लगायतका नेताहरूले पनि सम्बोधन गर्नुभएको थियो भने, कार्यक्रमको सञ्चालन सचिव तुलसी कार्कीले गर्नुभएको थियो ।













