सङ्खुवासभा । संखुवासभामा प्रहरीको हतियार खोस्न खोज्ने एक जना व्यक्तिमाथि गोली प्रहार भएको छ ।
खाँदबारी–६ निवासी ३१ वर्षीय रुद्रबहादुर विश्वकर्मालाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको हो ।
सदरमुकाम खाँदबारीस्थित बसपार्क क्षेत्रमा आइतबार दिउँसो उनले खुकुरी देखाएर प्रहरीमाथि हातपात गर्दै हतियार खोस्न खोजेपछि गोली हान्नुपरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
सादा पोसाकमा खटिएका प्रहरीमाथि खुकुरी देखाउँदै आक्रमण गर्न खोजेपछि बाध्य भई तिघ्रामा गोली प्रहार गरिएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मा जबरजस्ती करणी मुद्दामा ६ वर्षको कैद सजाय काटेर हालै मात्र कारागारमुक्त भएका थिए ।
मुक्त भएपछि पनि विश्वकर्माविरुद्ध ६–७ वटा चोरीसम्बन्धी उजुरी परेपछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको थियो ।
सो क्रममा विश्वकर्माले प्रहरीलाई हातपात गर्दै प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि परिस्थिति नियन्त्रणबाहिर जाँदै गएकाले सुरक्षाकर्मीले आत्मरक्षार्थ गोली प्रहार गर्नुपरेको डिएसपी मैनालीले दाबी गरे ।
गोली लागेर घाइते भएका विश्वकर्माको खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













