फुङलिङ । ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकास्थित तेम्बा बजारमा मंगलबार मध्यराति भएको आगलागीबाट ठूलो क्षति भएको छ । बजार क्षेत्रका चारवटा घर पूर्ण रूपमा जलेर नष्ट हुँदा १ करोड १८ लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले दिएको जानकारी अनुसार आगलागीबाट स्थानीय व्यवसायीहरू राजकुमार लिम्बू, इन्द्रकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर खरानी भएको छ ।
प्रारम्भिक विवरण अनुसार आगलागीबाट सबैभन्दा धेरै राजकुमार लिम्बूको ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, इन्द्रकुमारको ४३ लाख, अनिलको २० लाख र विष्णुप्रसादको ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रजिअ सेढाइँले बताउनुभयो ।
घरसँगै पसल र गोदाममा रहेका सामानहरू पनि जलेका छन् । इन्द्रकुमारको घरमा डेरा गरी बस्ने दोर्ची शेर्पाले भण्डारण गर्नु भएको २५ मन अलैँची आगोमा परेर नष्ट भएको छ ।
प्रहरीका अनुसार आगलागीमा परेर दुईवटा मोटरसाइकल, सुनचाँदी, नगद, खाद्यान्न, लत्ताकपडा र महत्त्वपूर्ण कागजातहरू जलेका छन् भने केही पशु चौपायाको समेत जलेर मृत्यु भएको छ ।
मध्यरातको समयमा आगलागी भएको र नियन्त्रणका लागि पानी तथा दमकलको अभाव हुँदा घरभित्र रहेका कुनै पनि सामान जोगाउन नसकिएको पीडित स्थानीयले बताएका छन् । आगो बुधबार बिहान साढे ५ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।
पार्किङ गरेर राखिएको मोटरसाइकलबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिए पनि यसको यकिन कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













