काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा उत्पन्न सुरक्षा संवेदनशीलताप्रति ध्यान दिँदै शान्ति सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ।
बुधबारदेखिको घटनाक्रमका सम्बन्धमा ध्यानाकर्षण गराउँदै आयोगले स्थिति नियन्त्रण र सामान्यीकरणमा आवश्यक सहयोग पुर्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
‘शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न, घटनाको छानबिन गर्न एवम् घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ,’ अयाोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘साथै संयमताका साथ स्थितिलाई सामान्यीकरण गर्ने गराउने कार्यमा सहयोग गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।’
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले पनि घटनाको अनुगमन भइरहेको जानकारी दिएका छन्।
आयोगका अनुसार बुधबारको विवादपछि आक्रोशित भीड सिमरा विमानस्थलतर्फ अघि बढ्दा प्रवेशद्वारमा क्षति पुगेको र झडपका कारण उडानहरू प्रभावित भएका थिए । उडान रोकिँदा एमाले नेताहरू सिमरा जान नसकेको तथा परिस्थितिलाई नियन्त्रणमा ल्याउन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको पनि आयोगले जनाएको छ।
विज्ञप्तिमा पाँच जना घाइते भएको उल्लेख छ। आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा भइसकेको संवेदनशील अवस्थामा यस्तो घटना हुनु लोकतान्त्रिक वातावरण र शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने भन्दै आयोगले सरकार तथा सबै सरोकारवालालाई सतर्क रहन आग्रह गरेको छ ।
आयोगले संविधानको धारा १७ मा सुनिश्चित गरिएको स्वतन्त्रतामाथि यस्ता घटनाले प्रत्यक्ष प्रभाव पार्ने र निर्वाचनमा संलग्न पक्षहरूबीचको आपसी सद्भाव समेत कमजोर बन्न सक्ने चेतावनी दिएको छ।












