झापा । झापाको शिवसताक्षीमा रोेजगारलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यले फिर्ती अप्राबासीहरुलाई एक दिवशीय अभिमुखिकरण गराइएको छ ।
मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तथा फिर्ती आप्रवासीहरूलाई स्थानीय रूपमा पुनःस्थापना गर्न सहजीकरण गर्ने उद्देश्यसहित कारितास नेपालले शिवसताक्षी नगरपालिका–६ निपत्रियास्थित श्री सामाजिक आदर्श आधारभूत प्राथमिक विद्यालयमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
मानव बेचबिखन विरुद्धको ‘सबलिकरण परियोजना’ अन्तर्गत आयोजित उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावक, स्थानीय समुदायका सदस्य, फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा स्वदेशमै स्वरोजगारमुखी गतिविधिमा लाग्न प्रेरित गर्नुका साथै अनिवार्य रूपमा वैदेशिक रोजगारमा जानु परेमा सीप सिकेर दक्ष जनशक्ति बनेर, नेपाल सरकारले तोकेका सबै मापदण्ड पालना गरी सुरक्षित रूपमा विदेश पुग्नुपर्ने सन्देश दिइएको थियो। यससँगै ठगी तथा जोखिमबाट जोगिन आवश्यक जानकारी र सावधानीहरूबारे विस्तारमा छलफल गरिएको सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले जानकारी दिए।
उनका अनुसार कार्यक्रम वैदेशिक रोजगारमा प्रस्थान गर्नु अघि तथा विदेशमा रहँदा अपनाउनुपर्ने सावधानी, सम्भावित जोखिम तथा सुरक्षित वैदेशिक श्रम प्रक्रियाबारे केन्द्रित थियो।
कार्यक्रम परियोजना सल्लाहाकार समिति सदस्य लेखनाथ उप्रेतीको अध्यक्षत्वमा सम्पन्न भएको थियो। विद्यालयका प्रमुख अतिथि प्रधानाध्यापक ज्ञानेन्द्र प्रसाद चापागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर योङहाङलगायतको उपस्थिति रहेको थियो।
सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी उक्त अभिमुखीकरण कार्यक्रम शिवसताक्षी नगरपालिकाका रोजगार संयोजक बिदुर तिम्सिनाले सहजीकरण गरेका थिए। कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।













