शिवसताक्षी । झापाको शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । मंगलबार शिवसताक्षी नगरपालिका वडा नं.३ को ज्येष्ठ नागरिक भवनमा कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो ।
शिवसताक्षी नगरपालिकाको आयोजना तथा नगर स्तरीय महिला समितिको सहकार्यमा १६ दिने अभियान सञ्चालन गरिएको शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं. ३ का वडाध्यक्ष भारष्कर न्यौपानेले महिलाहरुलाई गरिने हिंसाको विरुद्ध एक जुट भएर लाग्नु पर्ने बताए । महिलाहरुमाथि सामाजिक क्षेत्रमा, यात्राका क्रममा घरमा, सार्वजनिक ठाउँहरुमा गरिने दूव्र्यवहार र हिंसालाई न्युनिकरण गर्न सबै नागरिक समाज लाग्नु पर्र्ने उनको भनाई थियो ।
त्यस्तै शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफेले महिला हिंसा विरुद्धको १६ दिने अभियानको उद्देश्यहरु प्रष्ट पारेकी थिइन् । उनले लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा जानकारी दिइन् । महिला हिंसा विरुद्ध सबैले आ–आफ्नो घरबाट सुरुवात गरेमा मात्र प्रभावकारी हुने उनको भनाई थियो ।

लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा र्पुयाउने कार्य सम्झनु पर्ने र शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई बुझाउँछ ।

कार्यक्रममा महिला हिंसा विरुद्ध अभिमुखिकरण समेत गरिएको थियो । अभिमुखीकरणको सहजीकरण अधिवक्ता हेमकला कट्टेलले गरेकी थिइन् ।
कार्यक्रममा भानु माध्यमिक विद्यालयका प्र.अ. गणेश चम्लागाई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने, वडा सदस्य तथा नगर स्तरीय महिला समितिकी संयोजक यसोदा विमलीको अध्यक्ष रहेको थियो । शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख देविना पराजुलीले स्वागत गरेको कार्याक्रमको सञ्चालन नगर स्तरीय महिला समितिकी सहसंयोजक गोपिला चम्लागाइँले गरेकी थिइन् । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य जुनु मोहोरा लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।













