एजेन्सी । थाइल्याण्डमा ३ सय वर्षयताकै कठोर वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ। भीषण वर्षाका कारण देशका विभिन्न स्थानमा जनजीवन अस्तव्यस्त बनेको छ भने २० लाखभन्दा बढी मानिस प्रभावित बनेका छन्।
थाइल्याण्ड प्रहरीले दर्जनौं व्यक्ति सम्पर्कविहीन रहेको जनाएको छ। प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि सैन्य जहाज, हेलिकोप्टर र ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
सबैभन्दा बढी क्षति दक्षिणी थाइल्याण्डमा पुगेको छ। मलेसियाको सीमामा अवस्थित व्यापारिक केन्द्र हातयाई शहरमा एकै दिन ३३५ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन ३ सय वर्षयताकै सर्वाधिक भएको बताइएको छ।
भारी वर्षाले घर, सडक, व्यापारिक क्षेत्रसहित सवारी साधन डुबानमा परेका छन्। सामाजिक सञ्जालमा छतमा बसेर उद्धार पर्खिरहेका स्थानीयहरूको दृश्यहरू व्यापक रूपमा शेयर भइरहेका छन्।
थाइल्याण्ड सेनाले दैनिक ३ हजार जनालाई खाना पु-याउन सक्ने फिल्ड किचेन स्थापना गरेको जनाएको छ। प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्धार जारी छ।













