शिवसताक्षी । मिसियो म्युनिकको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा, कारितास नेपालद्वारा सञ्चालित वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने तथा फिर्ती आप्रवासीलाई स्थानीय तहमै पुनःस्थापना गर्ने उद्देश्यका साथ चलिरहेको सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना अन्तर्गत अन्तरक्रिया तथा अनुभव साटासाट कार्यक्रम सम्पन्न भएको छ।
परियोजनाको दोस्रो वर्ष अन्तर्गत वडा नम्बर १ मा गठन भएको धरमपुर महिला नौमती बाजा समूह र वडा नम्बर ८ मा गठन भएको शान्ति टोल आइपिएम कृषक पाठशाला समूहका ४५ जना सदस्यहरुको सहभागितामा वडा नम्बर १० दोमुखामा उक्त कार्यक्रम गरिएको हो।

वैदेशिक रोजगारसँग प्रत्यक्ष सम्बन्ध भएका फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा आप्रवासी परिवारका सदस्यहरूको सहभागितामा दुवै समूह गठन गरिएको हो। आप्रवासनमार्फत आएको रेमिट्यान्समा मात्र निर्भर नबसी स्थानीय तहमै सीप सिकेर आयमूलक क्रियाकलापमा प्रोत्साहित गर्ने उद्देश्यले समूह सञ्चालन भइरहेको सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले बताए।
धरमपुर महिला नौमती बाजा समूहलाई कारितास नेपालले नौमती बाजा तालिम प्रदान गरेको थियो भने शिवसताक्षी नगरपालिकाले बाजासेटसमेत उपलब्ध गराएको छ। हाल समूहका सदस्यहरू व्यावसायिक रूपमा नौमती बाजा बजाउने सेवामा संलग्न छन्।

त्यसैगरी शान्ति टोल आइपिएम कृषक पाठशाला समूहमा २५ जना सदस्य सहभागी छन्। परम्परागत तथा रासायनिक पदार्थमा निर्भर खेती प्रणालीबाट बाहिर निस्केर नयाँ आइपिएम प्रविधिमार्फत स्वस्थ, सुरक्षित र सामूहिक खेती प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन भइरहेको परिचालक लुइटेलले जानकारी दिए।
कार्यक्रममा दुवै समूहका सदस्यहरूले आफू–आफूले सिकेका सीप, अनुभव तथा व्यवहारिक ज्ञान एकअर्कासँग बाँडे। साथै सामूहिक वनभोज कार्यक्रम पनि आयोजना गरिएको थियो।
कार्यक्रम कारितास नेपाल प्रादेशिक कार्यालय दमकका प्रादेशिक प्रबन्धक शंकर कुमार पौडेलको सभाध्यक्षता तथा वडा नम्बर १ की सदस्य निर्मला पौडेल बराइलीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। कार्यक्रममा कारितास नेपालका कृषि अधिकृत टंक कटेल, कृषि प्राविधिक कृष्णप्रसाद कोइराला तथा कारितास नेपाल प्रादेशिक कार्यालय दमकका सम्पूर्ण प्रतिनिधिहरूको उपस्थिति थियो।













