शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका–११ स्थित मैनाचरी आधारभूत विद्यालयमा शैक्षिक तथा भौतिक सुधारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

स्थानीय लमुमाया राईको परिवारले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यसहित रु. ४५ हजार ४५ विद्यालयलाई प्रदान गरेका छन्। स्व. छविराज राईको स्मृतिमा उनकी श्रीमती लमुमाया राई, छोरी बेजर्नी र मनिता तथा छोरा मेहन्द्र राईले उक्त सहयोग रकम विद्यालयलाई हस्तान्तरण गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवराज राईले जानकारी दिए।

कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्बोले विद्यालय सुधारका लागि स्थानीय अभिभावक तथा समुदायको सक्रियता पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बढेको बताए। “विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार सुधार सबै सरोकारवालाहरूको साझा दायित्व हो। साथ–सहयोग जुटेमा अझै उत्कृष्ट उपलब्धि हासिल गर्न सकिन्छ,” वडाध्यक्ष आङ्बोले भने।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवराज राईले सहयोगकर्ता राई परिवारप्रति आभार व्यक्त गर्दै उक्त रकमलाई शैक्षिक सामग्री विस्तार, सिकाइ वातावरण सुधार तथा भौतिक पूर्वाधार स्तरोन्नतिमा खर्च गरिने बताए।

२०४५ सालमा स्थापना भएको मैनाचरी आधारभूत विद्यालयमा हाल १ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। स्थानीय समुदाय, अभिभावक र स्थानीय सरकारको निरन्तर सहयोगले विद्यालयमा खानेपानी, शौचालय, खेलकुद सामग्री लगायत आधारभूत सुविधामा उल्लेख्य सुधार भएको विद्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0