शिवसताक्षी । झापा शिवसताक्षी नगरपालिका वडा नं. ८ स्थित श्री अरुणोदय आधारभूत विद्यालयले धूमधामका साथ आफ्नो ४१ औं वार्षिकोत्सव तथा स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयको शैक्षिक यात्रा, उपलब्धि र योगदानलाई स्मरण गर्दै आयोजित कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, शिक्षक अभिभावक, दाताहरू तथा छिमेकी विद्यालयका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रमका दौरान विद्यालयमा स्थापना गरिएको अक्षयकोषका दाता तथा विद्यालय सुधारका गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न सहयोगी दाताहरूलाई सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ।
उक्त अवसरमा नगरप्रमुख मेगाहाङ्ग थोप्रा, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, वडा नं. ८ का वडाध्यक्ष सन्तफेउदिन, तथा नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्कीलगायतका अतिथिहरूले दाताहरुलाई सम्मानपत्र प्रदान गरेका थिए।

नगरप्रमुख मेगाहाङ्ग थोप्राले विद्यालय सुधारका लागि स्थानीय सरकारले मात्र चाहेर नहुने बताए । शैक्षिक तथा भौतिक सुधारका लागि शिक्षक अभिभावक, राजनीतिक दल सबैले एक जुट भए मात्र विद्यायल सुधार हुने जानकारी दिए । उनले लामो समय जीर्ण अवस्थामा रहेको यस विद्यालयले पछिल्लो समय शिक्षक तथा दाताहरुको जागरुपताले शैक्षिक सुधार, विद्यार्थीहरुलाई अति आवश्यक खानेपानीको व्यवस्था भएको र स्थानीय सरकारले भौतिक सुधारका लागि काम गरिरहेको बताए ।
कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबो, वडा सचिव पुष्प पाण्डे सहित १२ जना सहयोगी दाताहरूलाई सम्मान गरिएको विद्यालयकी प्रधानाध्यापक ताराकुमारी लावतीले जानकारी दिइन्। उनका अनुसार विद्यालयको गुणस्तरीय शिक्षा, पूर्वाधार सुधार र विद्यार्थी हितमा दाताहरूको निरन्तर सहयोग प्रेरणादायी रहेको छ। प्रधानाध्यापक लावतीले विद्यालयले हालसम्म गरेको उपलब्धि र विद्यालयका समस्याहरु राखेकी थिइन् ।

सभामा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले सांस्कृतिक नृत्य, स्वागत प्रस्तुति लगायत विविध आकर्षक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको विद्यालयले जनाएको छ।













