काठमाडौँ । लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ।

गत सिजन पुछारमा रहेर प्रतियोगिता अन्त्य गरेको लुम्बिनी यसपटक उपाधि यात्राका लागि साविक उपविजेता सुदूरपश्चिम रोयल्ससँग भिड्नेछ । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै लगातार दोस्रो पटक फाइनल यात्रा गरेको थियो।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १७.५ ओभरमै ९४ रनमा समेटियो ।

लुम्बिनीका पाँचै बलरले विकेट साझा गरे । तिलक भण्डारी सर्वाधिक तीन विकेटसहित चमके। अभिषेक गौतम, जेजे स्मिथ र रुबेन ट्रम्पेलमनले समान दुई/दुई विकेट लिए भने शेर मल्लले एक विकेट लिएका थिए।

विराटनगरतर्फ साम हेजलेटले ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डी लांगेले १७ रन जोडे। अन्य ब्याटर दोहोरो अंकमा पुग्न सकेनन्। ओपनर मार्टिन गप्टिल र फाफ डु प्लेसिस क्रमशः दुई र तीन रनमै समेटिए।

टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाई १३४ रन जोडेको थियो। लिग चरणमा दोस्रो स्थानबाट प्लेअफ प्रवेश गरेको विराटनगर रोकिँदा, चौथो स्थानबाट आएको लुम्बिनी फाइनलमा पुगेको हो।

एनपीएलको उपाधि भिडन्त शनिबार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0