झापा । वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तथा फिर्ती आप्रवासीहरूलाई स्वदेशमै पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यसहित शिवसताक्षी नगरपालिकामा एक दिवसीय अन्तरक्रिया तथा अनुभव साटासाट कार्यक्रम सम्पन्न भएको छ।

मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा कारितास नेपाल द्वारा सञ्चालित सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सशक्तीकरण परियोजना अन्तर्गत वडा नं. ११ दूधेमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूका परिवार सदस्य, फिर्ती आप्रवासी, सम्भावित आप्रवासी तथा वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै पुनःस्थापना भई उद्यमशीलतामा सफल भएका व्यक्तिहरूको सहभागिता रहेको थियो।

 कार्यक्रमको मुख्य उद्देश्य समुदायका विभिन्न समूहलाई एकै ठाउँमा ल्याई वैदेशिक रोजगारीको अनुभव, संघर्ष, समस्या तथा स्वदेश फर्किएपछि पुनःस्थापना र उद्यमशीलतासम्बन्धी अनुभव आदान–प्रदान गर्नु रहेको परियोजना परिचालक चिरञ्जीवी लुइटेलले जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारमा जान चाहनेहरूलाई सीप सिकेर सुरक्षित रूपमा, नेपाल सरकारका मापदण्ड पूरा गर्दै जाने विषयमा सचेतना दिने लक्ष्यसमेत राखिएको बताउनुभयो।

कार्यक्रममा स्वदेशमै उद्यम गरेर सफल भएका कन्काई नगरपालिकाका टेकनाथ अधिकारी, शिवसताक्षी–८ का ज्ञानप्रसाद गौतम, तुलसीप्रसाद रिजाल, वडा नं. ११ की अन्जु राई तथा रुद्रप्रसाद भण्डारीलगायतले आफ्ना अनुभव र संघर्षका कथा प्रस्तुत गरेका थिए।

दूधेस्थित ज्येष्ठ नागरिक भवनमा सम्पन्न कार्यक्रममा वडा नं. ११ का परियोजना सल्लाहकार समिति सदस्य खगेन्द्रराज बजगाईंले सभाध्यक्षता गर्नुभएको थियो भने ज्येष्ठ नागरिक समिति सदस्य पुण्यप्रसाद मैनाली प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा ६५ जना भन्दा बढीको सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले सफल व्यक्तिहरूको अनुभवबाट नयाँ सिकाइ र प्रेरणा मिल्ने भएकाले आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0