झापा । झापाको शिवसताक्षी नगरपालिका–दुधे बजारको उत्तरतर्फ पानीट्याङ्की नजिक डाँडाको जंगल क्षेत्रमा अचेत अवस्थामा भेटिएका अन्दाजी २९ वर्षीय विकल गहतराजको उपचारका क्रममा मृत्यु भएको छ।
दानाबारी निवासी गहतराजलाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी तत्काल दमक अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको इलाम प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गहतराज डाँडाबाट तल रहेको खोचमा अचेत अवस्थामा फेला परेका थिए। स्थानीयवासीले जंगलबाट एकोहोरो कराएको आवाज सुनेपछि घटनास्थल पुगेका थिए।
स्थानीय राजु दंगालका अनुसार गहतराज छटपटाइरहेको अवस्थामा भेटिएका थिए। त्यसपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा उनलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा उनले विष सेवन गरेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। घटनास्थलभन्दा माथिल्लो भागमा एउटा मोटरसाइकल, हेल्मेट तथा तौलिया फेला परेको पनि प्रहरीले जानकारी दिएको छ।
घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।












