शिवसताक्षी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न शिवसताक्षी नगर अधिवेशनबाट अशोक बस्नेत पुनः नगर सभापतिमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा बस्नेतले २५५ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि नगर सभापतिको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन्।
उनका प्रत्यासी विनोद खरेलले १४३ मत प्राप्त गरे। नगर सभापति पदका लागि भएको निर्वाचनमा कुल ४१० मतदाता संख्या रहेकोमा ४०५ मत खसेको निर्वाचन समितिले जनाएको छ। खसेको मतमध्ये बस्नेतले खरेललाई ११२ मतको अन्तरले पराजित गरेका हुन्।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित नगर सभापति बस्नेतले पार्टीलाई थप एकताबद्ध बनाउँदै संगठन सुदृढीकरणमा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बस्नेतले पार्टीका अग्रज तथा विभिन्न समयमा पार्टी निर्माण र संगठन विस्तारमा योगदान पुर्याएका व्यक्तिहरूबाट आशीर्वाद र मार्गदर्शन लिँदै नयाँ पुस्तालाई समेत पार्टी निर्माणमा सक्रिय बनाउने बताएका छन्। युवाहरूलाई राजनीतिक गतिविधिमा जोड्दै उनीहरूलाई आवश्यक राजनीतिक दिशा र जिम्मेवारी प्रदान गरेर पार्टी संगठनलाई थप गतिशील बनाउने उनको भनाइ छ।
उनले पार्टीभित्र युवा तथा महिलाको सहभागिता बढाउँदै सबै वर्ग र समुदायलाई समेटेर संगठनलाई अघि बढाउने बताए। आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नगरदेखि वडा तहसम्म संगठनलाई थप मजबुत बनाउने र शिवसताक्षी नगरपालिकाका सबै वडामा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ काम गर्ने उनको भनाइ छ।
बस्नेतले निर्वाचनमा आफूलाई विश्वास गरेर मत दिने प्रतिनिधिहरूप्रति धन्यवाद व्यक्त गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई अब संगठन निर्माण र एकताको आधारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। निर्वाचनमा प्रतिस्पर्धा भए पनि अब सबैलाई समेटेर कांग्रेसलाई बलियो र व्यवस्थित संगठनका रूपमा अघि बढाउने उनको प्रतिबद्धता छ।
यसैगरी, नगर अधिवेशनबाट महिला उपसभापतिमा कुमारी योङ्गहाङ, उपसभापतिमा सूर्यप्रकाश योङ्या, सहसचिवमा सुकदेव राजवंशी निर्वाचित भएका छन्। सचिवमा नवीन तिम्सिना यस अघि नै सर्वसम्मत चयन भएका थिए । त्यस्तै खुला सदस्यमा बद्रीप्रसाद अधिकारी र खुला महिला सदस्यमा सुजता दाहाल विजयी भएका छन्।
नेपाली कांग्रेस शिवसताक्षी नगर समितिका अनुसार नगर समितिका अन्य पदाधिकारी तथा सदस्यहरू भने यसअघि नै सर्वसम्मत रूपमा चयन भइसकेका थिए। निर्वाचनसँगै नगर कांग्रेसको नयाँ नेतृत्वले पूर्णता पाएको छ।
दोस्रो कार्यकालका लागि सभापतिको जिम्मेवारी पाएका बस्नेतसामु पार्टीभित्रको आन्तरिक एकता कायम राख्दै संगठनलाई वडा तहसम्म सक्रिय बनाउने, युवा तथा महिलाको सहभागिता बढाउने र आगामी स्थानीय निर्वाचनका लागि संगठनलाई तयार पार्ने जिम्मेवारी रहेको छ।













