बिर्तामोड । पछिल्लो समय पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ झापाले विरोध प्रदर्शन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रशासन कार्यालय दमकमा आज पत्रकारहरुले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै ‘पत्रकारहरुलाई सामुहिक गिरफ्तार गर’ भन्दै धर्ना दिएका हुन् । पत्रकारलाई ‘पटक–पटक होइन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने सन्देशसहित महासंघले सरकारको रवैयाप्रति खवरदारी गरेको हो ।
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित प्रदर्शनमा उत्रिएका पत्रकारहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिएका हुन् । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षमा भएको धर्नामा नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष मोहन काजी, गणेश पोखरेल, प्रेस सेन्टरका केन्द्रीय सदस्य राजु पाठक, प्रेस युनियन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, नारी सञ्चार गृह झापाको संस्थापक अध्यक्ष सावित्रा दाहाल, भद्रपुर प्रेस क्लवका अध्यक्ष राजबाबु शंकर लगायतले महासंघको आन्दोलनमा ऐक्यवद्धता जनाए । उनीहरुले प्रेस क्षेत्रमा राज्य पक्षबाट भइरहेको आतंकको कडा प्रतिवाद गरे ।
उनीहरुले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिनु, पत्रकारहरूलाई सामूहिक रूपमा गिरफ्तार गर्नु तथा प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास हुनु गम्भीर आपत्तिजनक भएको धारणा राखेका हुन् ।
त्यस्तै, सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेस्र्याएर अवरोध सिर्जना गर्ने कार्यमा संलग्नमाथि कारबाही नहुनु र पत्रकारलाई समाचार संकलन तथा प्रकाशनमा अवरोध पु¥याइनुले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रश्न उठाएको वक्ताहरुको भनाई थियो ।
धर्नामा सम्बोधनका क्रममा वक्ताहरुले सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र गोरखापत्रलगायतका सञ्चारमाध्यममा कार्यरत पत्रकारको रोजगारी असुरक्षित बनाइएको विषयमा पनि असन्तुष्टि प्रकट गरेका थिए ।
यसैगरी, पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनबापत पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको भन्दै महासंघले त्यसको तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
महासंघले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारलाई सामूहिक रूपमा गिरफ्तार गर्ने, समाचार कक्षमा प्रहरी प्रवेश गराउने र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
पत्रकारका अधिकार, प्रेस स्वतन्त्रता र श्रम अधिकारको संरक्षणका लागि महासंघले देशव्यापी रूपमा चरणबद्ध आन्दोलन गर्दै आएको छ । सोही आन्दोलनअन्तर्गत नेपाल पत्रकार महासंघले देशभर धर्ना दिएको हो ।
पत्रकार महासंघ झापाका सचिव प्रदीप परियारले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुब्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए ।












