शिवसताक्षी । आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवसताक्षीको दूधे रंगशालामा हुने अन्तर्राष्ट्रिय आमन्त्रण झापा महिला गोल्डकपको संस्थापक सदस्यता लिने संख्या तीव्र रूपमा बढिरहेको छ । एक सातामै करिब १२० जनाले सदस्यता लिइसकेको आयोजकले जानकारी दिएको छ ।

महिला खेलकुदकै इतिहासमा नेपालकै सर्वाधिक पुरस्कार राशी रहने यो प्रतियोगिता सुरु हुनुअघि नै व्यापक चर्चा कमाउन सफल भएको छ । यसअघि अधिकांश गोल्डकप प्रतियोगिताहरू मदिरा वा सूर्तीजन्य उद्योगको सहयोगमा सम्पन्न हुने गर्थे । तर, झापा महिला गोल्डकपले भने यसपटक ‘स्वस्थ प्रायोजन’ को नयाँ परम्परा सुरु गरेको छ ।

‘मदिरा र सूर्तीजन्य पदार्थ मानव स्वास्थ्यका लागि प्रत्यक्ष हानिकारक भएकाले हाम्रो प्रतियोगितामा यसको प्रचार–प्रसार हुनेछैन,’ आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए ।

दीर्घकालीन रुपमा गोल्डकपलाई अघि बढाउन ल्याइएको संस्थापक सदस्यता योजना अन्तर्गत सदस्यता शुल्क १० हजार रुपैयाँ तोकिएको छ । सदस्यलाई विशेष सुविधा दिने तयारी गरिएको छ । यस अभियानमा पूर्व मिस नेपाल माल्बिका सुब्बा, गायक दिपक लिम्बु, विश्व लिम्बु लगायतका चर्चित व्यक्तिहरूले सदस्यता लिइसकेका छन् ।

करिब एक करोड रुपैयाँ खर्चिने अनुमान गरिएको प्रतियोगिता नगरपालिकाको सहयोग, देश–विदेशका शुभेच्छुक तथा खेलप्रेमी, प्रायोजक र टिकट बिक्रीबाट सञ्चालन गरिने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0