अर्जुनधारा । गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण विस्थापित बनेको अर्जुनधारा नगरपालिका–३ स्थित अस्थायी प्रहरी चौकी खुदुनाबारी पुनः सञ्चालनमा आएको छ। आन्दोलनपछि कार्यक्षेत्र छाड्न बाध्य बनेको प्रहरी टोली शुक्रबार एक औपचारिक समारोहका बीच पुनः चौकीमा फर्किएको हो।
प्रहरी सहायक निरीक्षक नम्भु कुमार माझीको नेतृत्वमा रहेको टोलीलाई जनप्रतिनिधि र स्थानीयवासीहरूले खादा र फूलमालासहित स्वागत गरेका थिए।
उक्त कार्यक्रममा अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरे, वडा अध्यक्ष सिताराम भट्टराई, कार्यपालिका सदस्य चन्द्रा तामाङ, वडा सदस्य नारायण चापागाईं र सुमनकुमारी राई, अस्थायी प्रहरी चौकी व्यवस्थापन समिति अध्यक्ष ढुंडीराज गौतम, रेडक्रस खुदुनाबारीका सभापति जिवन भण्डारी, सचेत युवा समूहका अध्यक्ष राजा सावाँ लिम्बू लगायतका सरोकारवाला सहभागी थिए।
कार्यक्रममा युथ अफ खुदुनाबारीका अध्यक्ष सागर घिमिरे, वडा अध्यक्ष भट्टराई, उपप्रमुख पराजुली र नगर प्रमुख गोम्देनलगायतले चौकी पुनः सञ्चालनले स्थानीय सुरक्षामा थप विश्वास जगाउने विश्वास व्यक्त गरेका थिए।
नगर प्रमुख गोम्देनले प्रहरी सुरक्षाको आवश्यकता र महत्वलाई सबैले बुझ्नुपर्ने बताउँदै चौकी सञ्चालनमा स्थानीयको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले शनिश्चरे प्रहरी चौकी र अस्थायी प्रहरी चौकी खुदुनाबारी दुवैको स्तरवृद्धि गर्ने तयारी भइरहेको जानकारी पनि दिनुभयो। साथै, जेनजी आन्दोलनकै क्रममा विस्थापित बनेको सशस्त्र प्रहरी बेस क्याम्प खुदुनाबारी पनि छिट्टै पुनःस्थापना गरिने तयारी भइरहेको उहाँको भनाइ थियो।
कार्यक्रमको अध्यक्षता अस्थायी प्रहरी चौकी व्यवस्थापन समिति अध्यक्ष ढुंडीराज गौतमले गर्नुभएको थियो भने सञ्चालन वडा सचिव खगेन्द्र लिङ्देनले गर्नुभएको थियो। स्वागत मन्तव्य कार्यपालिका सदस्य चन्द्रा तामाङले दिनुभएको थियो।
हाल अस्थायी प्रहरी चौकी खुदुनाबारीमा प्रहरी सहायक निरीक्षक नम्भु कुमार माझीको नेतृत्वमा एक वरिष्ठ हवल्दार, एक सहायक हवल्दार र दुई जना प्रहरी जवान गरी पाँच जना सुरक्षाकर्मी खटिएका छन्।












