झापा । मोरङतर्फको वन क्षेत्रबाट हात्तीको ठूलो बथान झापा प्रवेश गरेपछि डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। गस्ती र माइकिङमार्फत स्थानीयलाई जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार करिब २५ देखि ३० वटा हात्ती बच्चासहितको बथान झापामा प्रवेश गरेपछि सुरक्षा सतर्कता बढाइएको हो। डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौँडा हुँदै करिब ५०–६० हात्ती नेपाल प्रवेश गरेका थिए। तीमध्ये ३० हात्ती एक वर्षअघि भारत फर्किएका र बाँकी मोरङ तथा सुनसरीका जंगलमा बसेका थिए। अहिले सोही बथान भारत फर्कने क्रममा झापा आइपुगेको कार्यालयको अनुमान छ।
उहाँले भन्नुभयो, “जनधनको क्षति नहोस् भन्ने उद्देश्यले हात्ती देखापर्ने पालिकाहरूमा रात्रिकालीन गस्ती र माइकिङ गर्दै आएका छौँ। हात्ती कुन क्षेत्रबाट कता गइरहेका छन् भन्ने कार्यालयले लगातार अनुगमन गरिरहेको छ।”
कार्यालयका प्रमुख श्रेष्ठका अनुसार आज बिहान हात्तीको बथान शिवसताक्षीधामस्थित रतुवामाई वृक्षारोपण वन क्षेत्रमा रहेको जानकारी प्राप्त भएको छ। हात्तीहरू दिनभर सामुदायिक वनमा बस्ने र राति मात्र हिँडडुल गर्ने हुँदा स्थानीयलाई साँझ–रातिको समयमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
वन कार्यालयले हात्ती बाहुनडाँगीतर्फ लौँदै आज वा भोलिसम्ममा भारत फर्कने अनुमान गरेको छ।












