सन्तोष शर्मा
झापा । झापामा क्षयरोगका छ सय १६ जना नयाँ बिरामी फेला परेका छन् ।
जिल्लामा २७ बालबालिकासहित छ सय १६ जना नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । जसमा तीन सय ७९ पुरुष र दुई सय १९ जना महिला छन् ।
बमम
चालू आर्थिक वर्षको छ महिनाको अवधिमा खकारमा किटाणु देखिएका तीन सय ७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ जना र फोक्सोमा बाहेक अन्य अंगमा क्षयरोग देखिएका एक सय ५१ नयाँ बिरामी फेला परेको उहाँले बताउनुभयो । क्षयरोग पुनः दोहोरिएको ४४ जना बिरामी समेत फेला परेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७९र०८० मा एक हजार ४५ जना र आव २०८०र०८१ मा एक हजार दुई ६० जना नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उहाँले पछिल्लो समय झापामा क्षयरोगीको संख्या बढ्दै गएको बताउनुभयो ।
“समुदायस्तरमा गएर बिरामीको खोजी गर्ने हो भने रोगीको संख्या अझै बढ्छ”, उहाँले भन्नुभयो, “सरुवा रोग भएकाले विशेष खोज पड्ताल अभियान चलाउन जरुरी छ ।” नयाँ फेला परेका सबै बिरामीले नियमित औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो ।
जिल्लामा फेला नयाँ क्षयरोगी २५ वर्षदेखि ५५ वर्ष उमेर समूहका धेरै छन् । झापाको दमक र मेचीनगरको धुलाबारीमा क्षयरोगीको संख्या धेरै रहेको फोकल पर्सन दास बताउनुहुन्छ ।
जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने क्षयरोगको औषधि बिरामीले छ महिनासम्म सेवन गर्नुपर्छ । औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक रू पाँच सय प्रोत्साहन रकम दिने गरिएको छ ।
संघीय कार्यक्रम अन्तरगत झापाको तीन वटा पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियान समेत सञ्चालित छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।
क्षयरोग के हो ?
श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने गर्दछ । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै, मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।
कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन् ।
तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।












