काठमाडौं । प्रतिनिधि सभामा कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको कार्यान्वयनबारे सरकारलाई प्रश्न उठाएका छन् ।
आङ्देम्बेले नयाँ प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै भने, ‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले गोरखापत्रमै पढ्ने ? सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस्। कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुँदैन भन्ने मान्यता आज पनि प्रष्ट र दृढ छ।’
सांसद आङ्देम्बेले संसद भवन र सिंहदरबार जस्ता संरचनामा भएको क्षतिको विषयमा पनि ध्यानाकर्षण गराए। ‘किन संसद भवन जल्यो? किन सिंहदरबार ध्वस्त बनाइयो ? भौतिक संरचनामा भएको विनाशलाई एउटै दृष्टिले हेर्नु जरुरी छ। २३ र २४ गतेको घटनालाई अलग–अलग हेर्ने प्रवृत्ति गलत छ। जाँचबुझ आयोगले २३ गतेको घटनाको अनुसन्धान गर्यो र कारबाहीको सिफारिस पनि गर्यो, तर २४ को अनुसन्धान पूरा भएन। समय थप्ने बहाना मात्र पर्याप्त छैन,’ उनले जोड दिए।
उनले संविधान विपरीत कार्य भएमा कांग्रेसले चेतावनी दिन अघि उभिने स्पष्ट पारे। ‘गत ७५ वर्षमा कुनै प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन्। नयाँ प्रधानमन्त्रीको नियत सकारात्मक हो भन्ने आशा राख्दै हामी उनको पूरा कार्यकालमा सहयोग गर्नेछौं। तर संविधान र नागरिक अपेक्षाविपरीत कुनै काम भए हामी सचेत भएर प्रतिरोध गर्न तयार छौं,’ उनले भने।












