शिवसताक्षी । शिवसताक्षी नगरपालिका–१ स्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा भानु माध्यमिक विद्यालय, शिवसताक्षी–७ लालझोडाकी कञ्चन काफ्ले प्रथम भइन् । भानु माध्यमिक विद्यालय, शिवसताक्षी–३ पाराबारीका प्रविण आचार्य द्वितीय, भगवती माध्यमिक विद्यालय, शिवसताक्षी–७ बैंङडाँडाकी प्रेसिका खनाल तृतीय तथा मोती माध्यमिक विद्यालय, शिवसताक्षी–२ मङ्गलबारेका अंशु चौलागाईं सान्त्वना स्थानमा रहन सफल भए । प्रथम, द्वितीय र तृतीय हुने कक्षा ९ का छात्र छात्रा हुनु भने सान्त्वना हुने कक्षा ११ की छात्रा हुन् ।
विजयी विद्यार्थीहरूलाई नगरप्रमुख मेगाहाङ थोप्राले क्रमशः रु. ८ हजार, ६ हजार, ४हजार र २ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गर्नु भयो ।
त्यसैगरी लक्ष्मी नारायण माविले विद्यायलमा स्थापना गरिएका अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ। स्व. नरबहादुर थापा र तारादेवी थापाको स्मृतिमा स्थापित अक्षय कोषबाट कक्षा १२ मा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो । २०८० सालको माध्यमिक तहको अन्तिम परीक्षामा सर्वाधिक जिपिए हासिल गर्ने सुवर्णा लिम्बु र सन्देश आचार्यलाई जनही रु. ५ हजार र प्रमाणपत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र लम्झेलले जानकारी दिए ।
त्यसैगरी, विद्यालयका पूर्व सहायक प्रधानाध्यापक माधवप्रसाद भण्डारीद्वारा स्थापित अक्षय कोषबाट कक्षा ८ मा उत्कृष्ट अंक प्राप्त गर्ने सिकम चेम्जोङ र सहारा खड्कालाई जनही रु. ५ हजार नगद प्रदान गरिएको थियो । साथै, सोही कोषबाट कक्षा १२ का सुवर्ण लिम्बु र सन्देश आचार्यलाई पुनः छात्रवृत्ति प्रदान गरिएकोे विद्यालय प्रशासनले जनाएको छ । पुर्व सहायक प्रधानाध्यापक भण्डारी द्वार स्थापित पुरस्कार कक्षा ८ र १२ का विद्यार्थीले पाउने व्यवस्था छ ।
विद्यालयको लेखा तथा सुपरिवेक्षण शाखाका अनुसार २०७८ सालमा स्थापना भएको स्वर्गीय नरबहादुर थापा र तारादेवी थापाको स्मृतिमा स्थापित अक्षय कोषमा हाल ५ लाख रुपैयाँ सञ्चित रहेको छ भने माधवप्रसाद भण्डारीद्वारा स्थापित कोषमा ३ लाख रुपैयाँ रहेको विद्यालयले जनाएको छ।












