शिवसताक्षी । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा १०८ ढुंगे धारा निर्माणका लागि भुमीपुजन सहित शिल्यान्यस गरिएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले १०८ धाराको शिल्यान्यस गरेका हुन् ।
शिवसताक्षी–१० स्थित दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाले धार्मिक पर्यटकीय अवधारणामा दोमुखालाई विकास र प्रवर्द्धन गर्ने लक्ष्यसहित जलधारा निर्माणका लागि आज भूमी पुजन र साँझ सवा लाख बत्ती बालेर ढुंगे जालधारा निर्माण सुरु गरिएको संस्थाका अध्यक्ष धनप्रसाद लावतीले बताए ।
अध्यक्ष लावतीले मुक्तिनाथ धामको शैलीमा १०८ धारा निर्माण गरिने र मुक्तीनाथ जान नसक्ने भक्तजनहरुले जलधारामा स्नान गरे पुन्य प्राप्त हुने विश्वास गरिएको जानकारी दिए । उनले ढुंगेधारा निर्माणका लागि मुक्तीनाथ क्षेत्र कालिगण्ढकीबाट जल, शालीग्राम समेत ल्याइएको बताए ।

शिल्यान्यस कार्यक्रम बोल्दै नगरप्रमुख थोप्राले शिवसताक्षी नगरपालिकाले दोमुखालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिए । आफु निर्वाचित भए पछि दोमुखाको विकासका लागि ७ करोड लगानी भइसेको छ । उनले भने, दोमुखा माइधार सडक, दोमुखा दक्षिण सडक, ट्रष्ट ब्रिज निर्माण भइसकेका छन् भने, दोमुखा क्षेत्रमा रात्री कालिन पर्यटकलाई आकर्षक बनाउन एक करोड बराबरको सडक बत्ती, झोलुङेपुलमा विभिन्न प्रकारका झिलभिली बत्तीहरु जडानको काम भइरहका छन् । दोमुखा क्षेत्रको पार्कको क्षेत्रफललाई बढाउँदै १०८ धारा निर्माण सम्पन्न भएपछि थप आकर्षकको केन्द्र बन्नेमा आफु विश्वस्त भएको नगरप्रमुखको भनाई थियो ।
प्रसिद्ध कनकाई नदीको किनारमा अवस्थित दोमुखामा मकर नुहाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्छ । मनोरम प्राकृतिक वातावरणको संगमका रुपमा प्रसिद्धि कमाएको दोमुखा पूर्वी नेपालको पर्यटकीय आकर्षणको केन्द्र पनि हो ।
प्राकृतिक सम्पदाको उपयोग गर्दै भौतिक संरचनागत विकासलाई संस्थाले पहिलो प्राथमिकतामा राखेको संस्थाका सचिव धनकुमार ढकालले बताए । संस्थाले तयार पारेको गुरु योजना अनुसार कनकाईको पानीलाई १०८ धारामा जोडिनेछ ।

१०८ धारामा कन्काई माईको पानीलाई मोटरबाट धारामा ल्याउने इन्जिनियर गंगाराम दाहालले जानकारी दिए । पानीलाई धारासम्म ल्याउनका लागि धेरै माथिबाट संरचना बनाउनु पर्ने भएकाले पानीलाई ओभर फोल्लो गरी मन्दिरको माथिल्लो भागमा डाँडामा ट्यांकी निर्माण गरी पाइपबाट पानी ल्याइने बताए । पूरा संरचना निर्माणका लागि २ करोड खर्च लाग्ने उनको भनाई थियो ।
धारा निर्माणका लागि कुनै परिवार वा वंशको नाम राख्ने गरी एउटा धारा निर्माणका लागि ५१ हजार रुपैयाँ लिइने अध्यक्ष लावतीले बताए । व्यक्तिगत नाम राखेर धारा निर्माण गर्ने भए ३५ हजार रुपैयाँ तिर्नु पर्ने व्यवस्था मिलाइएको छ ।
धारा निर्माणका लागि आजै मात्र दोमुखा धार्मिक पर्यटन विकास संस्थाका अध्यक्ष धनप्रसाद लावतीको परिवारले १ नम्बर धारा निर्माणका लागि १ लाख ११ हजार १११ रुपैया प्रदान गरेका छन् । त्यस्तै २ नम्बर धाराका लागि मिना संग्रौलाले ५१ हजार ५५१ प्रदान गरी धारा निर्माणमा सहयोग गरेकी संस्थाले जनाएको छ।
धारा निर्माणमा एक्कासी सहयोग जुटेको छ। १०८ ओटा धाराको १०८ नम्बर धारा निर्माणका लागि संस्थाका वरिष्ठ उपाध्यक्ष जयप्रसाद तिम्सिनाले ५५ हजार ५ सय ५५ प्रदान गरेको अध्यक्ष लावतीले जानकारी दिए । धारा निर्माणका लागि आफुले छानेको नम्बरको धारा प्राप्त गर्न सकिने बताइएको छ। आज मात्रै ७ लाख ४० हजार ७४९ रुपैया दाता माहानुभावहरुबाट घोषणा भइसकेको दोमुखा धार्मिक तथा पर्यटन विकास संस्थाले जनाएको छ।












