झापा । भारतबाट सामाग्री बोकेका मालबाहक कन्टेनर चेक जाँच विनै विर्तामोड आइपुगेको पाइएको छ ।

विर्तामोड–५ स्थित पूर्वपश्चिम राजमार्गमा जिप्रका झापाका टोलीले आइतवार राति ७ बजेतिर चेकजाँच गर्दा तीन वटा भारतीय कन्टेनरमा लुकाएर ल्याइएका रु. तीन करोड ६१ लाख मूल्य बराबरको कृषि औजार बरामद भएको थियो ।

भारतको पानीटंकीबाट नेपाल भित्रिने यात्रुको जाँच गर्न काँकरभिट्टा भन्सारमा तालिम प्राप्त कुकुरसहित सशस्त्र प्रहरी र भन्सार कर्मचारी खटिएका छन् ।

पूर्व पश्चिम लोकमार्गमा नेपाल प्रहरीको इलाका कार्यालय नै रहेको छ । सडकमा जोरसिमलमा सशस्त्र प्रहरीको अर्को टोली अबैध सामान जाँच्न तैनाथ छ । धुलाबारी र चारआलीमा प्रहरीको टोली राजमार्गमै अहोरात्र तैनाथ हुन्छन् ।

अझ भारत र पाकिस्तानको तनाव बढ्दा नाकामा चेकजाँचलाई कडा बनाइएको भनिएको थियो । यति हुँदाहुदै पनि आइतवार राति रु। तीन करोड ६१ लाखको सामान भारतबाट भित्रिदा किन मेची भन्सार र सशस्त्र प्रहरीका चेकपोस्टले जाँच गरेनन् । काँकरभिट्टा भन्सारबाट निर्वाध छिरेका तीन वटा भारतीय कन्टेनर विर्तामोडमा मात्र जाँच भए ।

विर्तामोडमा प्रहरीले नियन्त्रणमा लिएका भारतीय कन्टेनररु एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका थिए । ती गाडीहरु नागाल्यान्डका हुन् ।

बरामद अबैध सामान र कन्टेनरलाई प्रहरीले आवश्यक कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको जनाएको छ ।

यो घटनाले काँकरभिट्टा नाकामा तैनाथ सुरक्षाकर्मी र भन्सार कर्मचारीबीच तस्करसँग मिलेमतो छ कि भन्ने शंका जन्माएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0