शिवसताक्षी । शिवसताक्षी नगरपालिका–९ स्थित संगम चोकमा बसोबास गर्दै आएका तामाङ्ग परिवारमा एक साताभित्र दुई दुःखद निधनले स्थानीय समुदायमा गहिरो शोक छाएको छ ।
१५ वर्षीय आदित्य तामाङ्गको गत हप्ता बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्युसन पढेर घर फर्कने क्रममा कुटपिटमा परेका उनलाई गम्भीर चोट लागेपछि अस्पताल भर्ना गरिएको थियो । परिवारले उपचारमा सक्दो प्रयास गरे पनि उनको जीवन बचाउन सकिएन । घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।
आजै मृतक आदित्यकी आमा सीता तामाङ्गको पनि निधन भएको परिवारले जानकारी दिएको छ । केही समयदेखि जण्डिस रोगबाट ग्रस्त सीताले पनि असह्य पीडाका बीच यो संसार छाडेकी छिन् । तामाङ्ग परिवारमा अब मृतक आदित्यका पिता र एक नाबालक भाई मात्र रहेका छन् ।
यसै क्रममा नेकपा एमाले शिवसताक्षी वडा नं. ९ले मृतकका परिवारलाई सहयोग प्रदान गरेको छ । नेकपा एमाले शिवसताक्षी नगर कमिटीले मृतकका परिवारलाई नगद २९ हजार ९२० रुपैया सहयोग प्रदान गरेको हो । जहाँ अप्ठ्यारो त्यहाँ एमाले भन्ने मुल नारासहित समाजमा दुःख पीडामा परेका नागरिलाई सहयोग गरेको नेकपा एमाले वडा कमिटी ९ का अध्यक्ष लोकेश खनालले जानकारी दिए । उनले तामाङ्ग परिवार अति विपन्न अवस्थाको रहेकाले नेकपा एमाले वडा कमिटीले अप्ठ्यारोमा परेको परिवारलाई सानो सहयोग गरेको बताए । उनले भने, “एमाले सधैं पीडा र अप्ठ्यारो परेका जनताको साथमा छ ।
बाँकी परिवारलाई पुनर्जीवन दिनका लागि समग्र समाजले मानवीय संवेदना र सहकार्य आवश्यक रहेको देखिन्छ ।












