शिवसताक्षी । पशुपति एकेडेमी उच्च माध्यमिक विद्यालयले व्यास जयन्ती तथा गुरु पूर्णिमाको अवसरमा व्यास पूजन तथा गुरु पूजन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ।
कार्यक्रमको उद्देश्य वैदिक परम्परामा आधारित गुरु–शिष्य सम्बन्धलाई प्रगाढ बनाउँदै ज्ञानप्रति सम्मान र समर्पणको भावना जागृत गर्नु रहेको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूले गुरु तथा गुरुआमाहरूप्रति श्रद्धा प्रकट गर्दै पूजा र सम्मान अर्पण गरेका थिए। व्यास पूजा, सरस्वती पूजा र गुरु पूजन क्रमशः सम्पन्न गरियो। कार्यक्रममा गुरुहरूको महत्त्व र ज्ञानको अद्वितीय ऊर्जाको बारेमा प्रकाश पारिएको थियो।
गुरुहरूलाई अन्धकाररूपी अज्ञानता हटाई जीवन निर्माणको मार्गदर्शक बताउँदै, हरेक बालबालिकाले आमा–बुवा र गुरुजस्ता व्यक्तित्वलाई सदैव उच्च सम्मानमा राख्नुपर्ने सन्देश दिइएको थियो।
उत्तम गुरुको रूपमा आमालाई, र ज्ञानको मूल स्रोतको रूपमा विद्यालयलाई मान्नुपर्ने सन्देश दिँदै विद्यार्थीहरूलाई वैदिक मूल्य र संस्कारमा आधारित अध्ययन जीवन अपनाउन प्रेरित गरिएको थियो।
कार्यक्रममा आइसिपीहरू भट्टराई र पूजा अर्यालले पनि गुरु–शिष्य सम्बन्ध र व्यास जयन्तीको महत्वबारे आफ्ना विचार व्यक्त गर्नुभएको थियो।
विद्यालयले यस कार्यक्रममार्फत विद्यार्थीहरूमा वैचारिक चेतना, संस्कार र गुरुप्रतिप्रति श्रद्धा विकास गर्न सफल भएको जनाएको छ।गुरु पूजा कार्यक्रमको अध्यक्षता विद्यालयकी स्कुल क्याप्टेन सेमिफुङ फागोले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन तनुजा खतिवडाले गरेकी थिइन्। पूजामा मन्टेस्वरीदेखि कक्षा १२ सम्मका विद्यार्थी भाइहरूको उपस्थिति रहेको थियो












