बिर्तामोड । मिसियो म्युनिखको आर्थिक सहयोगमा तथा शिवसताक्षी नगरपालिकासँगको समन्वयमा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत झापाको बिर्तामोडस्थित सिपी होटलमा “सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार” विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कारितास नेपालद्वारा सञ्चालित मानव बेचबिखनविरुद्धको सबलीकरण परियोजनाअन्तर्गत आयोजित कार्यक्रममा झापा जिल्लाभित्र सञ्चालित २४ वटा सीप विकास तालिम प्रदायक संस्थाका सञ्चालकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वैदेशिक रोजगार सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनमा तालिम प्रदायक संस्थाहरूको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै उनीहरूलाई वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरूलाई आवश्यक पूर्वजानकारी प्रदान गर्ने, मार्गदर्शन गर्ने तथा दक्षताको मूल्याङ्कनपछि मात्र प्रमाणपत्र वितरण गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलका अनुसार, “तालिम प्रदायक संस्थाहरू अग्रपंक्तिमा रहेका कारण उनीहरूले सुरक्षित वैदेशिक रोजगारका लागि आधारभूत जानकारी अनिवार्य रूपमा सहभागीहरूलाई दिनुपर्ने, आवश्यक परेमा सरोकारवाला निकायहरूको सम्पर्क विवरण समेत उपलब्ध गराउनु पर्ने”मा कार्यक्रम केन्द्रित थियो।
कार्यक्रम कारितास नेपाल दमकका प्रादेशिक प्रबन्धक शंकर कुमार पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कारितास नेपाल दमकका परियोजना टिमको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण शिवसताक्षी नगरपालिकाका रोजगार शाखा संयोजक विदुर तिम्सिनाले गर्नुभएको थियो।
सहभागी संस्थाका प्रतिनिधिहरूले यस्तो कार्यक्रम अत्यन्तै प्रभावकारी र औचित्यपूर्ण रहेको प्रतिक्रिया दिँदै आफ्ना संस्थामार्फत सुरक्षित वैदेशिक रोजगारसम्बन्धी जानकारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, कारितास नेपालप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर हुनुपर्ने अपेक्षा व्यक्त गरिएको थियो।












