दमक । दमक–३ दापगाछीमा निर्माण गरिएको भव्य ‘बिजनेस टावर’ यही साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको उल्लेखनीय आकर्षण देखिन थालेको छ। दृश्यावलोकन, फोटोग्राफी र भिडियोग्राफीका लागि घुम्न आउनेहरूको भीड दैनिक बढ्दो छ।

वडा अध्यक्ष नविन बरालका अनुसार टावर खुलेपछि टुप्पासम्म चढेर टाढासम्मको दृश्य हेर्न आउने पर्यटकहरूको चाप बढेको छ। यसअघि पनि मानिसहरू घुम्न आउँथे, तर अहिले टावरमा चढ्न खुला भएपछि भिड बाक्लिएको उनले बताए।

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत उमेश खनालका अनुसार साउन ६ गतेसम्म २ हजार १ सय ४५ जनाले टावरको अवलोकन गरिसकेका छन्। अवलोकन गर्न आउने प्रत्येक व्यक्तिबाट सय रुपैयाँ प्रवेश शुल्क लिइन्छ। टावर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ।

करिब एक अर्ब ४५ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको टावरको उद्घाटन मंसिर २३ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। हाल सर्वसाधारणलाई १६ तलासम्म चढ्न दिइएको छ भने दुईवटा लिफ्टको सहायताले तलामाथि जान सकिने सुविधा दिइएको छ।

दृश्यावलोकनका लागि आउने आन्तरिक पर्यटकहरूको संख्या बढेसँगै टावर वरपरका खाजा घर, रेस्टुरेन्ट र साना पसलहरूमा व्यापारसमेत फस्टाउन थालेको देखिएको छ। दमकको यो गगनचुम्बी संरचना केवल शहरी विकासको प्रतीक मात्र नभई पर्यटन प्रवर्द्धनको नयाँ केन्द्रका रूपमा पनि स्थापित हुँदै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0