शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग र शिवसताक्षी नगरपालिकाको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना’ अन्तर्गत आज वडा नं. ४ स्थित पाँचगाछी बजारमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम फिर्ती आप्रवासी, सम्भावित आप्रवासी, आप्रवासी परिवारका सदस्य तथा लक्षित समुदायका व्यक्तिहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। कार्यक्रममा सुरक्षित वैदेशिक रोजगारीका लागि प्रस्थान गर्नु अघि ध्यान दिनुपर्ने उपाय, विदेशमा रहेर सुरक्षित रहने तरिका, वैदेशिक रोजगारीबाट फर्किएपछि स्वदेशमै पुनःस्थापनाको उपाय, वैदेशिक रोजगार बोर्डको कानुनी व्यवस्था, कल्याणकारी कोष लगायतका विषयमा जानकारी दिइएको थियो।

सो कार्यक्रममा “स्वदेशमै सीप सिकौं, आयआर्जनमुखी व्यवसायमा लागौं; यदि विदेश जानै परे पनि दक्ष भएर जानुपर्छ” भन्ने मूल सन्देशलाई केन्द्रमा राखेर सहभागिहरूलाई जानकारीमूलक सत्र संचालन गरिएको थियो।
कार्यक्रमका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले सुरक्षित आप्रवासनको महत्वबारे प्रकाश पार्दै सहभागीहरूलाई वैदेशिक रोजगारको सम्पूर्ण प्रक्रिया, कानुनी पहलु तथा जोखिम न्यूनीकरणका उपायबारे अभिमुखीकरण गराइएको जानकारी दिनुभयो।
५० जना सहभागी रहेको कार्यक्रममा वडा नं. ४ का परियोजना सल्लाहकार समितिका सदस्य तथा शिक्षक कमलप्रसाद ढकाल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा श्री दुर्गा पाञ्चायन कीर्तन मण्डलीकी अध्यक्ष श्रीमती इन्दिरा पाण्डे, सल्लाहकार समितिका सदस्य श्री बद्री बहादुर डागी आतिथ्य रुपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमको सहजीकरण शिवसताक्षी नगरपालिकाका रोजगार शाखा संयोजक श्री बिदुर तिम्सिना ले गर्नुभएको थियो।












