शिवसताक्षी वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यसहित शिवसताक्षी नगरपालिकामा एकदिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिका सँगको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित “सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना” अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त कार्यक्रम वडा नं. ८ स्थित डुडामारी बजारमा रहेको नयाँ गोरेटो प्रतिष्ठान लागू औषध तथा मादक पदार्थ उपचार केन्द्रमा सञ्चालन गरिएको हो । कार्यक्रममा सुधार केन्द्रमा रहेका फिर्ती आप्रवासी तथा सम्भावित आप्रवासी युवाहरुलाई स्वदेशमै स्वरोजगारमुखी कार्यमा लाग्न प्रेरणा दिने उद्देश्य लिइएको थियो । साथै, यदि वैदेशिक रोजगारीमा जानु परेमा सीप सिकेर दक्ष जनशक्ति बनी, नेपाल सरकारले तोकेका सबै मापदण्डहरू पालना गर्दै जानुपर्ने सन्देश दिइएको थियो ।

कार्यक्रमका बारेमा जानकारी दिँदै परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले भने, “स्वदेशमै स्वरोजगारको सम्भावना खोजौं, यदि विदेश जानै परे पनि सम्पूर्ण प्रक्रिया बुझेर मात्र अघि बढौं भन्ने सन्देश दिन खोजिएको हो ।”

कार्यक्रममा ३० जना सहभागी थिए भने कार्यक्रम सुधार केन्द्रका लेखापाल  बिक्रम नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो । शिवसताक्षी नगरपालिकाका रोजगार संयोजक  बिदुर तिम्सिनाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने वडा नं. ८ का स्वयंसेवक श्री हरु गुरागाईंले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रमले फिर्ती आप्रवासी तथा सम्भावित आप्रवासी युवाहरूलाई वैदेशिक रोजगारको सही मार्गदर्शनका साथै स्वरोजगारतर्फ लाग्ने सकारात्मक सोच विकसित गर्न सघाउने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0