झापा । झापाको अर्जुनधारा नगरपालिकामा रहेको जुकेखाडी सामुदायिक वनले यस वर्ष पनि थप ५ हजार विरुवा रोप्ने अभियान सुरु गरेको छ। मानव–वन्यजन्तु सहअस्तित्व सहज बनाउने र वन क्षेत्रको जैविक विविधता सन्तुलनमा टेवा पुर्याउने लक्ष्यसहित सामुदायिक वनले वृक्षरोपणलाई निरन्तरता दिएको हो।
गत वर्ष पनि सोही वन क्षेत्रमा बाँस, केरा, आँप जस्ता वन्यजन्तुलाई आहार बन्न सक्ने ५ हजारभन्दा बढी विरुवा रोपिएको थियो। यस वर्ष रोपिँदै गरिएका विरुवा प्रजातिहरू पनि स्थानीय जैविक प्रणाली अनुकूल चयन गरिएको वनका अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार जुकेखाडी सामुदायिक वनमा हालसम्म विभिन्न खण्डहरूमा योजनाबद्ध वृक्षरोपण कार्य भइरहेको छ । खण्ड ४ मा करिब ४ हेक्टर क्षेत्रफलमा श्रृखण्ड प्रजातिको स्वत चन्दन रोपिएको छ।

खण्ड ५ अन्तर्गत कैदले पर्यापर्यटन क्षेत्रको ७ कठ्ठा जमिनमा आँप र लिची र खण्ड २ भित्र नदी उकास क्षेत्रको डेढ हेक्टर जमिनमा बेल, तेजपाता, खमारी र जंगली सिसौ लगायतका विरुवा लगाइएको जुकेखाडी सामुदायिक वनले जनाएको छ । यसअघि पनि वन क्षेत्रभित्र करिब ४ हेक्टर क्षेत्रफलमा बाँस, केरा, आँप लगायतका बिरुवा रोपिसकिएको छ।
सामुदायिक वनले वृक्षरोपण अभियानलाई स्थानीय स्वयम्सेवक, वनप्रेमी, र सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै संस्थागत रूप दिँदै आएको छ। संरक्षणकर्मी र स्थानीय सरकारका प्रतिनिधिहरूले यो पहललाई “स्थानीय स्रोत र सामुदायिक सहभागिताको उदाहरणीय अभ्यास” भनेर प्रशंसा गरेका छन्।
सामुदायिक वनले वन्यजन्तु संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धन र जलवायु सन्तुलन कायम गर्ने दीर्घकालीन लक्ष्यसहित वृक्षरोपण कार्यलाई प्राथमिकतामा राखेको बताइएको छ।












