शिवसताक्षी । झापाको शिवसताक्षीमा निर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरी लैंगिक तथा घरेलु हिंसामा कानुनी व्यवस्था सम्बन्धी तीनदिने तालिम आजदेखि सुरु भएको छ।
शिवसताक्षी ८, झिलझिलेस्थित वाटरकिङडममा आजबाट सुरु भएको तालिमको उद्घाटन नगरप्रमुख मेगाहाङ्ग थोप्राले गरेका हुन्। महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था महिला सचेतना सशक्तिकरण नेपाल, काठमाडौं को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
तालिम उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले यस्ता तालिमहरुले जनप्रतिनिधिहरुलाई कानुनी जानकारी प्राप्त गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

“कतिपय अवस्थामा न्यायसम्बन्धी निर्णय गर्न कानुनी अप्ठ्यारा आउँछन्। यस्तो तालिमले प्रतिनिधिहरुको कार्यक्षमता बढाउँछ,” उनले भने।
कार्यक्रमकै अवसरमा संस्था भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने कृष्णप्रसाद हुमागाई र सुनिता हुमागाईलाई सम्मान गरिएको छ।
उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, संस्थाकी अध्यक्ष गोमा भुसाललगायतले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए।
संस्थाकी अध्यक्ष गोमा भुषालले दुई हुमागाई परिवारले एक÷एक कठ्ठा गरी कूल दुई कठ्ठा जग्गा प्रदान संस्थालाई निशुल्क प्रदान गरेको बताइन् । उक्त जग्गाको मूल्य करिब २० लाख रुपैयाँ पर्ने संस्थाले जनाएको छ ।

तीनदिने तालिममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्रप्रसाद निरौला र अधिवक्ता लेखनाथ निरौलाले सहजीकरण गर्नेछन्।
कार्यक्रममा उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष भाष्कर न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार तिरुपति परियारले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए । संस्थाकी संस्थापक सदस्य निरु चौहानले स्वागत गरेको कार्यक्रमको सञ्चालन तारा सिग्देलले गरेका थिए ।












