जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीमा आमासँग डेरा गरी बस्दै आएकी १५ वर्षीया किशोरी अञ्जलीकुमारी यादवको खुकुरी प्रहार गरी हत्या गरिएको घटनामा संलग्न एक जना पक्राउ परेका छन्।
धनुषा प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न रहेको अभियुक्तलाई सार्वजनिक गरेको हो। पक्राउ परेका व्यक्ति क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साह हुन्।
प्रहरीका अनुसार सोमबार राति अञ्जलीमाथि खुकुरी प्रहार भएको थियो। हमलामा किशोरी अञ्जलीको घटनास्थलमै मृत्यु भएको थियो भने उनकी आमा ३५ वर्षीया आशा यादव र मिथिलानगरपालिका–१ ढल्केवर निवासी १४ वर्षीया आशा यादव (अर्की) गम्भीर घाइते भएका थिए।
घाइते दुईजनामध्ये आशा यादव (अञ्जलीकी आमा) को धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था गम्भीर छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार अभियुक्त रामबाबु साह बुधबार राति साढे १० बजे आफ्नै बासस्थानबाट पक्राउ परेका हुन्।
प्रहरी अनुसन्धानमा खुलेका तथ्यअनुसार रामबाबु साह यसअघि पनि आफ्नै पत्नीको हत्या अभियोगमा दोषी ठहर भई पाँच वर्ष जेल जीवन बिताइसकेका व्यक्ति हुन्। उनी २०७७ सालमा जेलबाट रिहा भएका थिए।
रिहाइपछि उनले मदिरा पसल सञ्चालन गर्दै आएका थिए। सोही क्रममा आशा यादवसँग उनको चिनजान भई प्रेम सम्बन्ध विकसित भएको थियो। आशाका श्रीमानले दुबैको सम्बन्धबारे थाहा पाएपछि गाउँमा छलफल गरी आशालाई रामबाबु साहकै जिम्मा लगाउने सहमति भएको थियो। त्यही सहमतिपछि आशा आफ्ना दुई छोरा र एक छोरी छाडेर रामबाबुसँग बस्न थालेकी थिइन्।
प्रनाउ सिंहका अनुसार पछिल्लो समय आशाको आर्थिक अवस्था सुधारिँदै गएपछि उनी रामबाबुबाट टाढिन खोज्न थालिन् र आफ्ना पूर्व श्रीमान्सँग सम्पर्कमा आउन थालिन्। यही कारण र रिसइबीले आक्रोशित बनेका रामबाबुले खुकुरी प्रहार गरी घटनालाई अञ्जाम दिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।












