हरि गुरागाईं
आज म अलि चाँडै अफिस पुगेँ। अफिसको चहलपहल सुरु भएकै थिएन। शान्त थियो—कम्प्युटरका किबोर्डहरू बजेकै थिएनन् । सोझै आफ्नो कोठातिर नगई अमेलियाको कोठातिर मोडिएँ।
ढोका आधा खुला थियो। ढोकाबाटै देखेँ, उनी आफ्नो टेबल सफा गरे जस्तो देखिन्थिन् ।
“अघि नै व्यस्तता सुरु!” मैले सोधें ।
अमेलियाले हल्का संकोचका साथ मतिर हेरेर मुस्काइन्। “होइन नि,” स्वरको लयले उनी कतै गहिरो सोचमा रहेको सजिलै महसुस हुन्थ्यो।
“यो कप अस्तिदेखि नै यही रहेछ, टेबलमा दाग नै बसिसकेको छ।”
भनाईमा गुनासो मात्रै थिएन—कुनै मिठो सम्झना पनि मिसिएको थियो।
मेरो आँखा पनि त्यही अफ-ह्वाइट सेरामिक कपमा अडियो र एकाएक त्यो साँझको घटना चलचित्रजस्तै बिस्तारै आँखाअगाडि खुल्न थाल्यो। हामी प्रतिवेदनको तयारीमा थियौं। अबेर सम्म काम गरेकाले सबै थाकेका थियौं । दिनभरिको थकान मेटाउने बाहानामा कफिको चुस्की लिदै गफिएका थियौं।
‘तिमीलाई कालो कफी मन पर्छ?’ उनले सोधेकी थिइन्।
‘कफि भन्दा पनि कसैको साथमा कफि पिउन आनन्द लाग्छ।’ उनले मेरो यो बनिबनाउ जवाफमा कुनै प्रतिक्रिया दिएकी थिइनन् ।
“ए, त्यसो भए यो कप त त्यो कफी डेटको यादगार उपहार पो रहेछ!” मैले जिस्क्याएँ।
अमेलियाको अनुहार अझ रातो भयो। “होइन, त्यस्तो केही होइन,” उनले भनिन्, तर उनका ओठमा एउटा मधुरो मुस्कान खेलिरहेको थियो, जुन उनका शब्दहरूसँग मेल खाँदैनथ्यो।
त्यतिखेरै फोनमा च्याट सन्देशको नोटिफिकेसन बज्यो। अनि तुरुन्तै फोन पनि।
“मैले हेरेकै छैन…” — उनले भनिन्।
उताबाट के आयो, मलाई थाहा भएन, तर उनले फेरि भनिन्, “हुन्छ, म आइहाल्छु। तपाईंको कफीको त मलाई लत नै लागिसक्यो नि!” उनको आवाजमा एउटा चमक थियो ।
फोन राखेपछि उनले मलाई हेरेर फेरि मुस्काइन्। म एकछिन गफिने मुडमा उनको कोठातिर गएको थिएँ, तर अब म त्यहाँ बसिरहन उपयुक्त भएन।
“इन्जोय विद योर कफी,” मैले भनेँ, हल्का टाउको हल्लाउँदै निस्किएँ। निस्कँदा, ढोका खुलै छोडें—केही सम्झनाहरू जस्तै।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0